चितवन – कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले केन्द्रीय कार्यालयमा लामो समयदेखि काजमा कार्यरत ३८ शिक्षक तथा कर्मचारीलाई दरबन्दी भएकै आङ्गिक कलेज तथा अनुसन्धान केन्द्रमा फिर्ता पठाएको छ ।
विश्वविद्यालयको नियमअनुसार काज अवधि बढीमा एक वर्ष हुनुपर्ने भए पनि ४ शिक्षक र ३४ कर्मचारी ७-८ वर्षसम्म केन्द्रीय कार्यालयमै काजमा रहेको पाइएको प्रशासनले जनाएको छ ।
नवनियुक्त उपकुलपति प्राडा ऋषिराम कट्टेलको अध्यक्षतामा बसेको कार्यकारी परिषद्को ३१८औँ बैठकले नियमविपरीतको काज फिर्ता गरी भदौ १ गतेभित्र दरबन्दी भएकै निकायमा हाजिर हुन निर्देशन दिएको हो ।
रजिष्ट्रार प्राडा सुविर सिंहका अनुसार निर्णयले आङ्गिक कलेजको पठनपाठन र व्यवस्थापन सुदृढ गर्नुका साथै विश्वविद्यालयमा विकेन्द्रीकरण र सुशासन कायम गर्न सहयोग पुग्नेछ। केही कर्मचारीले भने निर्णयले प्रशासनिक तथा शैक्षिक सेवा प्रभावित हुन सक्ने भन्दै असन्तुष्टि जनाएका छन् ।

