चितवन । पूर्वी चितवनको रत्ननगरमा पशु चौपायमा रेविज सङ्क्रमण पुष्टि भएपछि प्रभावित क्षेत्रमा खोप अभियान सुरु गरिएको छ । रत्ननगर–९, १० र १६ का पशुमा रेविजको लक्षण देखिएको हो ।
पशु सेवा कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार जर्सी गाईमा सङ्क्रमण पुष्टि भएको छ। रेविज लागेका पशुमा ¥याल काड्ने, पानी तथा घाँस खान नखोज्ने, असामान्य व्यवहार देखाउने र मानिस तथा अन्य जनावरलाई टोक्न खोज्ने लक्षण देखिने गर्छ ।
रत्ननगर नगरपालिकाकी पशु चिकित्सक अनुस्का राजभण्डारीका अनुसार चालु आर्थिक वर्षमा चार वटा नमूना सङ्कलन गरिएकोमा दुई वटामा रेविज पुष्टि भएको छ । अन्य दुई नमूना परीक्षणका लागि पठाउने तयारी भइरहेको छ। सङ्क्रमित क्षेत्रमा पशु तथा जोखिममा रहेका मानिसलाई रेविजविरुद्धको खोप दिन थालिएको छ ।
उनका अनुसार न्याउरी मुसा र स्यालको टोकाइबाट पशुमा रेविज सरेको हुनसक्ने अनुमान गरिएको छ । जङ्गल आसपासका पशुपालकलाई सतर्क रहन र शङ्कास्पद लक्षण देखिए तत्काल सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरिएको छ ।
जनावरले टोकेमा वा चिथोरेमा घाउलाई साबुन र बगिरहेको सफा पानीले कम्तीमा १५ मिनेट धुन र चिकित्सकको सल्लाहअनुसार तत्काल रेविजविरुद्धको खोप लगाउन पशु स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

