चितवन । चितवनमा यस वर्ष सयपत्री फूलखेतीको क्षेत्रफल दोब्बर बढेको छ । गत आर्थिक वर्षमा २१ दशमलव ९२ हेक्टरमा खेती गरिएकोमा चालु वर्ष ४४ हेक्टरमा सयपत्री लगाइएको कृषि विकास कार्यालय चितवनले जनाएको छ ।
बागबानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार चाडपर्वलाई लक्षित गर्दै जिल्लाका सातै पालिकामा व्यावसायिक सयपत्री खेती भइरहेको छ । सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा खेती गरिएको छ ।
गत वर्ष जिल्लामा सयपत्रीबाट १३१ दशमलव चार मेट्रिक टन फूल उत्पादन भएको थियो । थोरै क्षेत्रफलमा राम्रो उत्पादन हुने तथा पछिल्लो समय स्वदेशी फूलको माग र मूल्य बढेकाले किसान यसतर्फ आकर्षित भएको चौहानले बताउनुभयो ।
उहाँका अनुसार गत वर्ष फूलको अभाव र राम्रो मूल्य पाएका कारण यस वर्ष खेतीको क्षेत्रफल बढेको हो । भारतबाट हुने फूल आयात घटाउने सम्भावनाले समेत किसानको आकर्षण बढेको उहाँको भनाइ छ ।

