चितवन– वित्तीय सङ्कट र किसानको बक्यौता भुक्तानीको समस्या झेल्दै आएको दुग्ध विकास संस्थान (डिडिसी) ले दैनिक १ लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य लिएको छ ।
हाल दैनिक करिब ६५ हजार लिटर दूध सङ्कलन गर्दै आएको डिडिसीले थप ८५ हजार लिटर वृद्धि गर्ने योजना बनाएको हो । दूध सङ्कलन केन्द्र विस्तार, किसानलाई नियमित भुक्तानी तथा बजार सञ्जाल विस्तारमार्फत लक्ष्य हासिल गर्ने संस्थानले जनाएको छ ।
डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार चार महिनाअघि करिब रु. ७२ करोड रहेको किसानको बक्यौता अहिले रु. २० करोडमा झरेको छ । पछिल्लो साढे तीन महिनामा संस्थानले करिब रु. ७० करोड किसानलाई भुक्तानी गरेको उहाँले जानकारी दिनुभयो ।
यसैगरी, संस्थानसँग रहेको धुलो दूधको मौज्दात करिब ६०० टनबाट घटेर १२० टन तथा बटरको मौज्दात ५०० टनबाट घटेर १२५ टनमा झरेको छ ।
बजार विस्तारलाई समेत प्राथमिकता दिएको डिडिसीले काठमाडौंमा १५ वटा डेडिकेटेड बिक्री काउन्टर सञ्चालनमा ल्याएको छ । दैनिक कारोबार रु. ५०–६० लाखबाट बढेर करिब रु. एक करोड पुगेको तथा काठमाडौंमा दूध बिक्री दैनिक ६० हजार लिटरबाट बढेर ७२ हजार लिटर पुगेको संस्थानले जनाएको छ ।
डिडिसीले आन्तरिक बजारसँगै निर्यातमा समेत जोड दिएको छ। दुबईमा ५०० किलो घ्यू निर्यात भइसकेको र वार्षिक ५० हजार किलो घ्यू निर्यात गर्ने सम्झौता भएको पाण्डेले बताउनुभयो । दक्षिण कोरिया, मलेसिया र जापानमा चिज तथा पेडालगायतका उत्पादन निर्यातका लागि छलफल भइरहेको छ ।
हाल करिब ८०० कर्मचारी रहेको डिडिसीमा करिब रु. १ अर्ब २६ करोड ऋण रहेको छ। खर्च नियन्त्रण, वित्तीय अनुशासन र बजार विस्तारमार्फत आगामी एक वर्ष छ महिनाभित्र ऋण चुक्ता गर्ने लक्ष्यसहित काम अघि बढाइएको महाप्रबन्धक पाण्डेले बताउनुभयो ।

