काठमाण्डौ / हरेक वर्ष साउन १५ मा अनौपचारिकरुपमा ‘कोदो दिवस’ मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष’ कै रुपमा मनाएको थियो । अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षका रुपमा नेपालमा पनि विभिन्न कार्यक्रम गरिएको थियो ।
आर्थिक वर्ष ०७०/७१ मा झण्डै २ लाख ७१ हजार हेक्टर क्षेत्रफलमा कोदो उत्पादन भएपनि अहिले घटेर २ लाख ६५ हजार हेक्टरमा झरेको छ । क्षेत्रफल घटे पनि उत्पादन भने केही बढेको पाइन्छ । आर्थिक वर्ष ०७०/७१ मा उत्पादन तीन लाख ४ हजार टन थियो तर अहिलेको उत्पादन झण्डै तीन लाख २५ हजार टन पुगेको छ ।
आर्थिक वर्ष ०७०/७१ मा तीन करोड तीन लाख रुपैयाँको मात्रै कोदो आयात भएको थियो । तर भन्सार विभागको हालै सार्वजनिक तथ्याङक अनुसार झण्डै ७५ करोड रुपैयाँ बराबरको कोदो आयात भएको छ ।
उन्नत प्रविधि, मलबीउ र किसानलाई आकर्षित गर्ने खालका कार्यक्रम र कोदो खेती बिस्तार सरकारको प्राथमिकता नपरेको किसानको गुनासो छ ।

