खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण गरिएको छ ।
व्यावसायिक कृषि तथा पशुपक्षी सम्बन्धी सहुलियतपूर्ण कर्जा कार्यान्वयन गर्दै सानास्तरका किसानलाई व्यावसायिक कृषि व्यवसायमा व्यवस्थित गर्ने उद्देश्यले किसान क्रेडिट कार्ड वितरण शुरु गरिएको हो । ग्लोबल आईएमई बैंक, आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालि र नगरपालिकाको साझेदारीमा किसानलाई कर्जासँगै किसान क्रेडिट कार्ड वितरण गरिएको हो ।
लगानीको अभाव झेलिरहेका किसानलाई ग्लोबल आईएमई बैंकले त्रि–पक्षीय साझेदारीमा पाँच वर्षभित्र तिर्नेगरी दुई लाख रुपैयाँका दरले कर्जा उपलब्ध गराएसँगै क्रेडिट कार्ड वितरण गरिएको मेयर तीर्थराज भट्टराईले बताउनु भयो। पहिलो चरणमा कर्जा लिएका नगरपालिकाका २१ किसानलाई किसान भदौ ८ गते क्रेडिट कार्ड वितरण गरिएको छ।
क्रमशः अन्य किसानलाई किसान क्रेडिट कार्ड वितरण गरिने नगरपालिकाले जनाएको छ । तर सहुलियतपूर्ण कर्जा लिएका किसानले खाताबाट नगद झिकेर चलाउन पाउने छैनन् । क्रेडिट कार्डबाटै दुई लाख रुपैयाँ खर्च गर्नेरगराउने व्यवस्था मिलाइएको छ । किसानले कृषि सामग्री, मल र मेसिनरी सामान बिक्रेता पसलमा क्रेडिट कार्डको क्यूआर कोड स्क्यान गरेर मल, बिउ र उपकरण खरिद गर्न सक्ने मेयर भट्टराईले बताउनु भयो ।

