चितवन । चितवनको कालिका नगरपालिकामा रहेको भिमवली सामुदायिक बन क्षेत्रमा सिसि टिभी जडान गरिएको छ । पहिलो चरणमा ३ स्थानमा सिसि टिभी क्यामेरा जडान गरिएको कालिका नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दिपक बहादुर भट्टराईले जानकारी दिनुभयो ।
बन क्षेत्रबाट हुने चोरी निकासी न्युनिकरण र सुरक्षाका लागि सिसि टिभी जोड्ने काम गरिएको उहाँले बताउनुभयो । पहिलो चरणमा कमिनीघाट चोक, भिमवली पार्क अगाडी र भिमवली सामुदायिक वनको कार्यालय नजिक सिसि टिभी जडान गरिएको छ ।
वन क्षेत्रबाट अवैध रुपमा गिटी वालुवा ढुङ्गा माटो चोरी निकासी बढेको र काठा दाउरा समेत चोरी हुँदै आएकोले न्युनिकरण र निगरानीको लागि सिसी टिभी जडान गरिएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । वडाकोे बजेट तथा कार्यक्रम अन्तर्गत काम भएको जानकारी दिदैँ उहाँले भिमवली सामुदायिक बन समितिले पनि सहयोग गरेको बताउनुभयो ।
जडान गरिएको सिसि टिभीको डिस्पले वोर्ड भिमवली सामुदायिक वन कार्यालयमा रहने र कम्तीमा १५ दिनको रेकर्ड रहनेगरी जडान गरिएको उहाँले बताउनुभयो । पहिलो चरणमा तिन स्थानमा जडान गरिएको भएपनि आवश्यकता र प्रभावका आधारमा सिसि टिभी थप्दै जाने उहाँले जानकारी दिनुभयो ।

