चितवन । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले दूधको मूल्य वृद्धि गर्न माग गरेको छ । दूधको मूल्य प्रतिलिटर ७० रुपैयाँ न्युनतम हुनुपर्ने संघको माग रहेको छ । दुध उत्पादन लागत बढेको तर दुधको मुल्य नबढेको कारण कृषकहरु मारमा परीरहेकोले दूधको मूल्य बढाउन माग गरेका उनीहरुले बताएकाछन् ।
दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर वग्लेले ढुटो, मकै, पिना, दाना, चोक्कर जस्ता उपभोग्य वस्तुको मूल्य २० देखि ३० प्रतिशतले बढेकोले किसानले प्रति लिटर दूधमा ८ देखि १० रुपँया घाटा बेर्होनु परेको जानकारी दिनुभयो । सरकारले दूधको मूल्य बढाएर न्यूनतम ७० रुपैया प्रतिलिटर बनाउनुपर्ने उहाँले बताउनुभएको छ ।
चितवनलाई नेपाल सरकारले तीन वर्ष अगाडि दूधमा आत्मनिर्भर क्षेत्र घोषणा गरिएको थियो । जिल्लामा ३३ प्रतिशत दुग्ध उत्पादक किसान रहेका छन् । जिल्लामा ३८ हजार ६११ दूधालु गाईभैँसी रहेका छन् । जसबाट तीन लाख ५० हजार लिटर दूध दैनिक उत्पादन हुँदै आएको तथ्याँक रहेको छ ।
चितवनमा उत्पादन भएका ५५ प्रतिशत दूध काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर र कास्की लगायतका जिल्लामा सप्लाई हुँदै आएको बताउँदै उहाँले चितवन जिल्ला दूध उत्पादनको मुख्य केन्द्र भएको जानकारी दिनुभएको छ । कच्चा पदार्थको मूल्य बृद्धिलाई तुरुन्तै घटाउन तथा बैँक तथा बित्तीय संस्थाहरुलाई ऋण असुलीमा धरपकड कम गर्नुपर्ने बताउँदै उहाँले किसानका समस्या समाधान गर्न राज्य संवेदनशिल हुनुपर्ने बताउनुभयो ।
पछिल्लो समय लागत मूल्य बढ्दा तथा राज्यले ठोस कदम नल्याउँदा किसान मर्कामा परेको बताउँदै उहाँले पशुपालनका लागि सवल मानिएको चितवनमा पछिल्लो समय किसानलाई समस्या थपिदै गएको बताउनुभएको छ । नेपाल सरकारले विसं २०७८ साल माघ १६ गते दूधको मूल्य बढाएदेखि हालसम्म बढेको छैन । बजारमा चोक्करको मूल्य एक हजार ५०० बाट २२ सय पुगेको छ । अहिले बजारमा किसानले प्रति लिटर दूधको मूल्य जम्मा ५६.४ पैसा मात्रै पाएका छन् ।

