चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नं। ७ ले किसानलाई ५० प्रतिशत अनुदानमा सिंचाइ मोटर वितरण गरेको छ । वडाभित्रका किसानका लागि ३२ वटा मोटर वितरण गरिएको वडाअध्यक्ष सजना महतोले जानकारी दिनुभयो । उहाँका अनुसार वडाबाट ४७ वटा निवेदन परेकोमा ३२ जनाले मात्रै मोटर पाएका हुन् ।
वडाले कृषि क्षेत्रलाई सहज बनाउनको लागि किसानलाई मोटर वितरण गर्दै आएको वडाअध्यक्ष महतोले जानकारी दिनुभयो। आर्थिक अवस्था कमजोर रहेका किसानले मोटर नहुँदा सिंचाइमा झेल्दै आएको अभाव पूर्ति भएको बताउनुभयो । किसानले मोटर पाएपछि सिंचाइमा सहज हुने विश्वास लिइएको छ । किसान मिलन गोदारले वडाबाट पाएको मोटरका कारण कृषि उत्पादनमा सहज हुने बताउदै उहाँले वडाले वडावासी किसानको हितमा काम गरेको जानकारी दिनुभयो ।
युवा किसान वीरेन्द्र चौधरीले मोटर अभावमा खेतमा सिंचाइ गर्न नपाइरहेको अवस्थामा वडाले किसानमैत्री कार्यक्रम ल्याएको भन्दै खुसी व्यक्त गर्नुभयो। आगामी दिनमा पनि किसानमैत्री अन्य कार्यक्रम ल्याउन उहाँले आग्रह गर्नुभएको छ ।

