तनहुँ – तनहुँको व्यास नगरपालिका–१४ मा रहेको छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक लगाइएको छ ।
छाब्दी बाराही विकास कोष तनहुँले अनिश्चितकालका लागि परेवा लैजान रोक लगाउने निर्णय गरेको हो । छाब्दी मन्दिरमा उडाउँदै आएको तराईका परेवाबाट विभिन्न किसिमका रोग लागेर मन्दिर परिसरमा रहेका परेवासमेत मर्न थालेपछि परेवा लैजान रोक लगाइएको हो ।
परेवा मर्ने र फोहरमैला पनि बढ्दै गएकाले सरसफाइलाई मध्यनजर गर्दै परेवा लैजान रोक लगाइएको कोषका अध्यक्ष मानबहादुर थापाले जानकारी दिनुभयो । कोषले अर्को सूचना जारी नगर्दासम्म परेवा लैजान रोक लगाइएको पनि अध्यक्ष थापाले बताउनुभयो ।
मन्दिर सदरमुकाम दमौलीबाट करिब सात किलोमिटर पूर्वदिशामा पर्दछ । भाकल गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ विभिन्न जिल्लाबाट भक्तजन पूजाअर्चनाका लागि छाब्दी बाराही मन्दिरमा आउने गर्दछन् । रासस

