काठमाडौँ । गत वैशाख ६ गतेदेखि देशैभर कृषि गणनाका लागि तथ्याङ्क सङ्कलनको काम सम्पन्न भएको छ । हाल ७७ वटै जिल्लाबाट सङ्कलन गरिएको तथ्याङ्कका फाराम सङ्कलनको काम भइरहेको बताइएको छ ।
राष्ट्रिय कृषि गणना २०७८ वैशाख ६ गतेदेखि सुरु गरिएको थियो । यो कृषि गणनामा ८६ करोड खर्च लाग्ने अनुमान गरिएको छ । यो पटक तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषकसँग कृषि क्रियाकलाप सम्बन्धी विस्तृत विवरण सङ्कलन गरिएको छ । कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक खटाइएको थियो ।
यसअघि विसं २०६८ मा कृषि गणना भएको थियो । केन्द्रीय तथ्याङ्क विभागले प्रत्येक १०/१० वर्षमा कृषि गणना सुरु गर्दै आएको छ । यो सातौँ कृषि गणना हो । नेपालमा पहिलो कृषि गणना २०१८ सालमा भएको थियो ।

