रुकुम पश्चिम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका ८ मा लगाइएको आलु खेतीमा फौजी किराले क्षति गरेको छ । दाना लाग्ने बेला भएको आलु खेती सुक्दै जाँदा किसानहरू चिन्तित बनेका छन् ।
फौजी किराको आक्रमणबाट त्यस क्षेत्रमा लगाइएको बर्खे आलु खेतीमा क्षति पुगेको वडा सदस्य हिमकुमार पाण्डेले जानकारी दिनुभयो । आलु उत्पादनका लागि उत्कृष्ट मानिएको त्यस क्षेत्रलाई सरकारले आलु पकेट क्षेत्रसमेत निर्धारण गरेको छ । वडा सदस्य पाण्डेका अनुसार आलु पकेट क्षेत्रको लसुनबारी, पाखापानी, झिम्मा, क्वाम्मा, घोरखानी, काप्रीबास लगायतका टोलमा लगाइएको आलुमा क्षति पुगेको छ ।
जिल्लाको मुसीकोट नगरपालिकाले आलुको उत्पादन क्षेत्र भएकोले किसानहरूलाई अनुदान दिएर सहयोग गरेको थियो । आलु पकेट क्षेत्र सरकारले नै निर्धारण गरेको हुनाले किसानलाई आलुको बिउ, सिँचाइ लगायतका कुरामा नगरपालिकाले अनुदान दिने गरेको छ ।
नगरपालिकाले यस पटक बर्खे आलु खेतीका लागि दुई लाख ५० हजार रुपैयाँ बराबरको आलुको बिउ किसानलाई वितरण गरेको थियो ।

