काठमाडौँ । गएको कार्तिक पहिलो हप्ता बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेको थियो । नेपाल सरकारले बर्षाले धानबालीमा क्षति पुगेका किसानलाई राहत रकम उपलब्ध गराउन १ अर्ब रुपैयाँ निकासा गरेको छ। हाललाई जिल्ला विपद् व्यवस्थापन समितिबाट यकिन भई आएका जिल्लालाई मापदण्ड बमोजिमको आधार र प्रक्रिया पूरा गरी रकम उपलब्ध गराउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।
मापदण्ड २०७८ ले निर्धारण गरेको आधार र प्रक्रिया अनुसार राहत रकम उपलब्ध गराउन लागिएको हो । किसानलाई राहत उपलब्ध गराउने सम्बन्धमा गत कात्तिकमा सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउनेसम्बन्धी मापदण्ड, स्वीकृत गरेको थियो।
धानबालीमा क्षति पुगेका इलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, सिरहा, बारा, रौतहट, मकवानपुर, रसुवा, काभ्रे, सिन्धुली, स्याङ्जा, कास्की, पर्वत, बर्दिया, दाङ, रोल्पा, पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, बाँके, प्युठान, हुम्ला, जुम्ला, कालीकोट, डडेलधुरा, बाजुरा, बैतडी, कञ्चनपुर र कैलालीका किसानलाई राहत उपलब्ध गराउने निर्णय भएको हो । जिल्लाका विपद् व्यवस्थापन कोषमा ८५ करोड चार लाख रुपैयाँ रकम निकासा भइसकेको गृह मन्त्रालयले जनाएको छ

