काठमाडौँ । जिल्ला प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा नेपालगंज बाँकेले अवैध रूपमा आयात गरिएको २ हजार ९ सय ४० कुखुराको चल्ला नियन्त्रणमा लिएको छ । नेपालगंज उपमहानगरपालिका वडा नं ६ बाट अवैध रूपमा भन्सार तथा क्वारेन्टाईन नाका छली प्रतिबन्धित भारतीय कुखुराको चल्ला नियन्त्रणमा लिई पशु क्वारेनटाईन नेपालगन्जमा बुझाएको हो ।
उक्त चल्ला नष्ट गरिएको पशु क्वारेनटाईन नेपालगन्ज बाँकेका वरिष्ठ पशु चिकित्सक डा भक्त निउरेले बताउनुभएको छ । अवैध आयात गर्नेमा नेपालगंज उपमहानगरपालिका वडा नं १५ का मगरे कवाडिया, बब्लु कवडिया र नफिस कवाडिया रहेका छन् ।
उनीहरूलाई पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा २० (१) अनुसार प्रति व्यक्ति २२ हजारका दरले ६६ हजार जरिवाना तिराइएको छ । विदेशबाट स्थल मार्ग हुँदै नेपालमा कुखुरा, चल्ला, अण्डा तथा मासुजन्य पदार्थ आयात गर्न प्रतिबन्ध छ । तर, दैनिक भारतका विभिन्न सहरबाट चोर नाका हुँदै अवैध कुखुरा र अण्डा नेपाल भित्रिँदै आएको छ । जसले गर्दा नेपाली व्यवसाय तथा किसानहरू मर्कामा पर्ने गरेका छन् ।

