काठमाडौँ । भारतीय सीमा नाकाहरूबाट अवैध रूपमा आयात हुने पोल्ट्रीजन्य पदार्थहरू कुखुरा, चल्ला, मासु र अण्डा नियन्त्रणका लागि एक समिति गठन गर्ने निर्णय गरिएको छ ।
पोल्ट्री क्षेत्रका संघ संस्थाहरूको छाता संस्था नेपाल कुखुरा व्यवसायी मन्चको आस चितवनमा बसेको बैठकले अवैध आयात रोक्न मन्चका उपाध्यक्ष रघुनाथ भट्टको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको हो ।
साथै उक्त समितिले व्यावसायिक संघ संस्थाहरू, सरकारी निकायहरू, सुरक्षा निकायहरू, भेटेरीनरीएनहरुसँग आवश्यकता अनुसार समन्वय गरी अनुगमन कार्यलाई तीव्रता दिने निर्णय पनि गरिएको कुखुरा व्यवसायी मन्चले जनाएको छ । यसका साथै पोल्ट्री क्षेत्रका संघ संस्थाहरूको कार्यालय चितवन औद्योगिक प्रदर्शनी परिसर भित्र स्थापना गर्ने पनि निर्णय गरिएको छ ।
यस्तै पोल्ट्री क्षेत्रको दीर्घकालीन विकासका लागि राज्यको तर्फबाट गर्नु पर्ने भूमिकाका बारेमा प्रधानमन्त्री, अर्थमन्त्री, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, पशु सेवा विभाग लगायतका निकायहरूसँग निरन्तर संवाद गर्ने पनि जनाएको छ ।

