पर्वत / फलेवास नगरपालिका–१० कुर्घाकी उपप्रमुख शोभाकुमारी क्षेत्रीले राजनीतिक जिम्मेवारीसँगै कृषि पेसालाई पनि निरन्तरता दिएकी छन्। भक्तपुरे लोकल जातको काँक्राको बीउ उत्पादनमा केन्द्रित क्षेत्रीले सात रोपनी जग्गामा व्यावसायिक खेती गर्दै आएकी छन्।
२०५६ सालदेखि कृषि पेसामा सक्रिय क्षेत्रीले उपप्रमुख बनेपछि गाईपालन छाडेर काँक्रा खेतीमा ध्यान दिएकी हुन्। उनको खेतबाट वार्षिक पाँचदेखि सात लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ। श्रीमान् सोमबहादुरको साथमा काम गर्दै आएका क्षेत्री दम्पतीको मेहनतले गाउँमा अन्य किसान पनि यसतर्फ आकर्षित भएका छन्।
क्षेत्रीले टनेलमा टमाटर, मौसमी तरकारी तथा धानको बीउ पनि उत्पादन गर्दै आएकी छन्। कुनै समय मासिक दुई लाख रुपैयाँसम्म कमाउने उनी उपप्रमुख बनेपछि कृषिमा समय घटेपनि प्रयास भने निरन्तर रहेको बताउँछिन्।
“जनप्रतिनिधि शासक होइन, सेवक हो भन्ने भावना बोकेको छु,” क्षेत्री भन्छिन्, “जनताको सेवा गरेपछि बाँकी समय कृषिमा लाग्ने गर्छु।” उनका अनुसार फलेवास क्षेत्रमा अब हरेक वर्ष करोडौंको काँक्राको बीउ उत्पादन र बिक्री हुने गरेको छ।

