दाङ / दाङका किसानहरूले नगदेबाली भित्र्याउन व्यस्तता बढाएका छन् । गहुँ, जौ, तोरी र मुसुरो जस्ता बालीहरू भित्र्याउन यन्त्रहरूको प्रयोगले कृषकहरूको काम सजिलो बनाएको छ । यन्त्र प्रयोग गरेर बालीहरू छिटो भित्र्याउने काम गर्दै किसानहरू अब बढी व्यस्त छन् ।
घोराही उपमहानगरपालिका–६ गुरुवागाउँका श्याम चौधरीले दुई बिघा जमिनमा तोरी, मुसुरो, गहुँ र जौखेती गरेका छन् । उनले भने, “खेताला पाइँदैनन्, त्यसैले यन्त्रको प्रयोगले खेती गर्न सजिलो भएको छ । हाते ट्र्याक्टरले खेत जोतेको हुँ र थ्रेसरले बालीहरू भित्र्याएको छ ।”
यस्तै, घोराही–१७ कर्जाहीका आशाराम चौधरीले पनि थ्रेसरको प्रयोग गरेर गहुँ, जौ र तोरी छान्ने काम सजिलो बनाएका छन् । उनले भने, “खेताला लगाउँदा चार–पाँच दिन लाग्थ्यो, अब थ्रेसरको मद्दतले काम छिटो र सजिलो भएको छ ।”
यसका साथै, घोराही उपमहानगरपालिकाले किसानलाई कृषि यन्त्रहरूको उपलब्धता सुनिश्चित गर्न हाते ट्र्याक्टर, थ्रेसर, मल छर्ने मेसिन र सिँचाइ उपकरण अनुदानमा वितरण गर्दै आएको छ । नगरप्रमुख नरुलाल चौधरीले भने, “मागका आधारमा यस्ता उपकरणहरू पालिकाले आधा मूल्यमा वितरण गर्दै आएको छ, जसले किसानलाई राहत पुर्याएको छ ।” रासस

