काठमाण्डौ / कालिमाटी तरकारी बजारमा रायोको साग किलोको झन्डै दुई सय रुपैयाँ पुगेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्य सूची अनुसार आज कालिमाटी बजारमा रायोको साग औसतमा किलोको एक सय ९६ रुपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ । हिजो मूल्य हिजोकोभन्दा किलोमा झन्डै २२ रुपैयाँले धेरै हो ।
कालिमाटी बजारमा आज प्राय सबै प्रकारका सागको भाउ बढेको छ । आज तोरीको साग किलोको ७० रुपैयाँ, हरियो प्याज किलोको दुई सय १७ रुपैयाँ र जिरीको साग किलोको पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज ठूलो गोलभेंडाको भाउ किलोमा पाँच रुपैयाँ बढेर ९० रुपैयाँ पुगेको छ ।
स्थानीय बन्दा किलोको ५५ रुपैयाँ, स्थानीय काउली किलोको ९५ र स्थानीय ज्यापू काउली किलोको एक सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । एक महिना अघिको तुलनामा कालिमाटी बजारमा धेरैजसो तरकारीको भाउ झन्डै सय प्रतिशतले बढेको छ ।

