सुनसरी । पूर्वी तराईका चौपायामा छालामा हुने गिर्खे रोग देखिएको छ । तीन वर्षअघि भारत र बंगलादेशमा देखिएको यो रोग दुई वर्ष अघिदेखि नेपालमा भित्रिएको थियो । सुनसरी र मोरङका केही स्थानीय तहमा केही गाईमा उक्त रोगसँग मिल्दो लक्षण देखिएपछि परीक्षणबाट पुष्टि भएको हो ।
अहिले सुनसरीको धरान, इटहरी, बराहक्षेत्र र मोरङको सुन्दरहरैंचा, ग्रामथानलगायतका स्थानीय तहका चौपायामा यो रोगको संक्रमण देखिएको छ । तर, रोकथामका लागि प्रभावकारी पहल हुन सकेको छैन । प्रकोप नियन्त्रणका लागि चौपायामा खोप लगाउनुपर्ने भए पनि नेपालमा उपलब्ध नभएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख कुमारसिंह खत्रीले बताए । प्रकोप फैलिएका स्थानमा जैविक सुरक्षाका सामान्य सतर्कता अपनाइएको उनले बताए ।
यो रोग देखिएका चौपायामा घाँटी, पुच्छरवरिपरिको भाग, पेट, थुनलगायतका भागमा गिर्खा देखिने, घाउ बन्ने र फुटेर पानी बग्ने गरेको छ । त्यस्तै १ सय ५ डिग्रीसम्म ज्वरो आउने, कचेरा र सिगान बग्ने तथा मुखबाट धेरै फिँज निकाल्ने जस्ता लक्षण देखिएका छन् । यो रोग लागे पछि ८० प्रतिशतसम्म दूध घट्ने किसानको भनाइ छ ।
गिर्खे रोग लामखुट्टे, झिंगा र किर्नाको टोकाइबाट सर्ने पाइएको छ । रोग लागेपछि पशुलाई सार्वजनिक स्थलमा चरनका लागि लैजान नहुने र संक्रमित पशुलाई अन्य पशुसँग सम्पर्कमा आउन नदिने, जैविक सुरक्षामा ध्यान दिने, गोठ सरसफाइ गरेपछि नियन्त्रणमा सहज हुने पशु विज्ञ बताउँछन् ।

