चितवन । कुखुरा पालन व्यवसायमा समस्या बढेको छ । लागत अनुसारको मूल्य नपाएका कारण कृषकहरु समस्यामा रहेकाछन् । उत्पादनमा लागत मूल्य बढेपनि विक्रीमा समस्या देखिएपछि व्यवसाय बन्द गर्नेको संख्या बढ्दै गएको छ ।
कुखुरा पालनको राजधानीको रूपमा मानिने चितवनमा पछिल्लो समयमा नयाँ खुल्ने पोल्ट्री फर्म भन्दा बन्द गर्नेको संख्याको बढी छ । मंगलबारमात्रै झापामा कुखुरा पालक किसानले सडकमा अण्डा ल्याएर फुटाएर विरोध प्रदर्शन गरे । सडकमा ल्याएर अण्डा फुटाएर विरोध गर्नुको पछाडि अण्डा र कुखुराको मासुले लागतअनुसारको मूल्य नपाएर हो ।
अहिले एउटा अण्डाको उपभोक्ताले १५ रूपैयाँ तिर्ने गर्छन् भने कुखुराको मासु साढे ३ सय रूपैयाँमा पाइने गर्छ । ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले लागत उठाउन नसकिएको कारण चितवनमा मात्र ६ वटा ह्याचरी बन्द भएको बताउनुभयो । चल्ला उत्पादन गर्ने काम नै बन्द भएको बताउदै उहाँले आत्मनिर्भर भएको क्षेत्र अब धरासायी बन्न पुगेको जानकारी दिनुभयो ।
पोल्ट्री व्यवसायमा एक खर्बभन्दा बढी लगानी भएको छ । बेला बेलामा बर्ड फ्लुको कारण कुखुरा पालक किसानलाई समस्यामा परेको थियो । २०७६ सालमा कोभिड नियन्त्रणको लागि सरकारले लकडाउन गरेपछि नै पोल्ट्री व्यवसाय झनै समस्यामा पर्यो । पछिल्लो समय बढेको ब्याजदरले व्यवसायलाई निकै समस्या पारेको अध्यक्ष पोखरेल बताउँछन् ।
व्यवसायीहरूका अनुसार ठूलो लगानी गरेका पोल्ट्री तथा ह्याचरी व्यवसायी नै अवस्थामा सुधार नभएमा ठूला लगानीकर्ता समेत अब बाहिरिने तयारीमा छन् । व्यवसायीका अनुसार अहिले २० रूपैयाँमा समेत चल्ला बिक्री हुन मुस्किल छ । यस्तै अवस्था ब्रोइलर कुखुरामा समेत छ ।
कुखुरा र अण्डा भारतबाट आउन नपाए पनि अवैध तरिकाले भित्रिने गरेको जानकारी दिदैँ अध्यक्ष पोखरेलले राज्यले वास्ता नगर्ने हो भने देशभित्र लगानी गर्न सक्ने अवस्था नरहेको बताउनुभयो । चितवनमा पोल्ट्री व्यवसायी प्रभावित हुँदा यसको असर अन्य क्षेत्रमा समेत परेको व्यवसायीहरू बताउँछन् ।
नेपाल पोल्ट्री व्यवसायमा दुई दशकदेखि नै आत्मनिर्भर भएको छ ।व्यवसायीका अनुसार डेढ सयजति ह्याचरी उद्योगहरू अहिले बन्द भएका छन् । कुखुरा उत्पादनको लागि चल्लादेखि लिएर दाना तथा अण्डा उत्पादनसम्मको एउटा इको सिस्टम हुन्छ । अहिले सबै क्षेत्र नै धरासायी भएको व्यवसायीहरू बताउँछन् ।

