चितवन। चितवनका कृषकले धानवालीमा लाग्ने गवारो लगायतका किरा नियन्त्रणका लागि मोहनी पासो बनाएकाछन् । चितवनका किसानहरुले विषादीको विकल्पका रुपमा ‘मोहनी पासो’ नामक नयाँ प्रविधि प्रयोगमा ल्याएका हुन् ।
‘मोहनी पासो’ गभारो अर्थात् पुतलीको सहवाससँग सम्बन्धित छ । सहवासका बेला पोथी पुतलीले भाले पुतलीलाई आकर्षित गर्न छाड्ने बासनालाई कृत्रिम बासनाको रुपमा उत्पादन गरी ‘मोहनी पासो’मा राखिएको छ ।‘मोहनी पासो’लाई धानबालीको बीचमा लौरीमा बाँधेर राखिन्छ । सोही पासोमा राखिएको बासनादार केमिकलको बासनाले भाले पुतलीको मृत्यु हुन्छ ।
चितवनमा विगत पाँच वर्षअघिदेखि प्रधानमन्त्री कृषि आधुनिक परियोजनाले धान जोन क्षेत्रमा यसको प्रयोग गरेको थियो । पालिकास्तरबाट यसको प्रयोग हुन थालेको तीन वर्ष भएको छ । चितवनको रत्ननगरमा मकैबालीमा गरिएको प्रयोग सफल भएपछि यसै वर्षबाट नगरपालिकाले किसानको धान खेतमा प्रयोगमा ल्याएको हो ।
बजारमा प्रतिगोटा ३५० रूपैयाँ पर्ने ‘मोहनी पासो’लाई नगरपालिकाले १०० रूपैयाँमा किसानलाई उपलब्ध गराएको छ । ‘मोहनी पासो’मा राखिएको केमिकलले ४५ दिन काम गर्छ । धानबालीमा प्रतिबिघा १० वटा ‘मोहनी पासो’ राख्नुपर्छ ।

