काठमाडौँ । कुखुरको मासुको मूल्य घटेको छ । एक हप्ताको अन्तरालमा दुई पटक कुखुराको मासुको मूल्य घटेको हो भने जेठ महिनामा मात्र ३ पटक घटिसकेको छ । निरन्तर कुखुराको मूल्य घट्न थालेसँगै किसान मारमा परेका छन् ।
२२ दिन अघि मात्र निर्वाचनको समयमा उच्च विन्दुमा पुगेको कुखुराको मूल्य हाल निरन्तर घटिरहेको हो । स्थानीय तहको निर्वाचनको समयमा जिउँदो कुखुरा किसानहरूले ३१० रुपैयाँ प्रतिकिलोसम्म बिक्री गरेका थिए । तर अहिले मूल्य घटेर २७० पुगेको छ ।
मासुको खपत कम हुँदा कुखुरा किसान मारमा परेका छन् भने अर्को तर्फ दानाको मूल्य नघट्दा किसान थप मारमा परेका छन् । कुखुराको मूल्य हप्तामा २ पटकसम्म घट्दा पनि दानाको मूल्य घटेको छैन । करिब एक महिनादेखि दानाको मूल्य स्थिर रहेको छ । दाना उद्योग सङ्घका अनुसार एक महिनादेखि ४ हजारदेखि ४२ सयसम्ममा प्रतिबोरा दाना किनबेच भइरहेको छ ।

