काठमाडौँ । सर्लाहीका किसानलाई निःशुल्क पावर टिलर वितरण गरिएको छ । सेभ द चिल्ड्रेन र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रद्वारा सञ्चालित समुन्नति कार्यक्रम अन्तर्गत गोडैता नगरपालिका -९ बकैनियामा गठन भएको श्री मदिना हरियाली कृषक समूहलाई एउटा पावर टिलर वितरण गरिएको हो ।
आइतबार एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका अध्यक्ष गायत्री देवीको अध्यक्षता एवम् गोडैता नगरपालिका वडा नं ९ का वडा अध्यक्ष र नगरपालिकाका कृषि अधिकृत महेन्द्र प्रसाद कुस्वाहाको आतिथ्यमा पावर टिलर वितरण गरिएको हो ।
करिब २ लाख १५ हजार मूल्य बराबरको पावर टिलर किसानलाई निःशुल्क वितरण गरिएको हो । उक्त स्थानका किसानले विशेष गरेर व्यवसायिक रुपमा तरकारी खेती गर्छन् भने बर्खाको समयमा पानी जम्ने हुनाले धान खेती पनि गर्ने गरेका छन् । पछिल्लो समय कृषि उत्पादन बढाउन विभिन्न सङ्घसंस्था तथा सरकारी निकायले अनुदान तथा निःशुल्क किसानलाई कृषि यन्त्र वितरण गरिरहेका छन् । जसले गर्दा किसान पनि कृषि क्षेत्रमा आकर्षित भएका छन् ।

