काठमाडौँ । चितवनमा चैत ९ गतेदेखि शलोम ५ औँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुने भएको छ । चितवनको भरतपुर महानगरपालिकाको चितवन एक्स्पो सेन्टरको हलमा आयोजना हुने प्रदर्शनी चैत ९ देखि १२ गतेसम्म हुने छ । यस अघि प्रदर्शनी माघ ५ गतेदेखि ८ गतेसम्म हुने भनिए पनि कोभिड १९ को नयाँ भेरियन्टका कारण स्थगित गरिएको थियो ।
प्रदर्शनी कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र सङ्घको संयुक्त आयोजनामा गर्न लागिएको हो । नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण औद्योगीकरण ,आधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पुर्याउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको नामियाले जनाएको छ ।
उक्त प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती ,व्यवसायी तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामाग्री, बीउ विजन, आधुनिक सिँचाई लगाएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीहरूको सहभागिता रहनेछ ।
यस सङ्घले कृषकहरूलाई आधुनिक कृषि यन्त्र तथा प्रविधिहरूको बारेमा जानकारी गराउने उद्देश्यले सरकारको आयोजनामा पहिलो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७० चितवन, दोस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७२ कोहलपुर ,बाँके, तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७४ धरान र चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६, चितवनमा सफलता पूर्वक सम्पन्न गरिसकेको छ।

