कास्की । पोखरामा पनि बर्डफ्लु संक्रमण फैलिएको छ । पोखराको दुईवटा ठाउँमा एकैपटक बर्डफ्लु देखिएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पोखराका सूचना अधिकारी डा ग्रीष्म न्यौपानेले जानकारी दिए ।
उनका अनुासर पोखरा महानगरपालिकाको वडा नम्बर १५ र १७ मा संक्रमण पुष्टि भएको हो । ६ गते पोखरा १५ का खुसीमान गुरुङले पालेको फार्ममा कुखुरा मरेपछि त्यसको परीक्षणका लागि जिल्ला प्रयोगशाला ल्याएका थिए । त्यहाँको आरडीटी परीक्षणमा पोजिटिभ देखिएपछि थप परीक्षणका लागि काठमाडौं पठाईएकोमा फागुन १५ गते संक्रमण पुष्टि भएको हो ।
अहिले भेटेनरी डाक्टर, प्रयोगशालाका प्राविधिकसहित जिल्ला र स्थानीयका टोली घटनास्थलमै रहेको र पन्छी नष्ट गर्नुका साथै रोग देखापरेको क्षेत्रलाई पूर्ण निसंक्रमण गर्ने काम गरिरहेको पनि उनले जानकारी दिए ।
यसका साथै रोगको संक्रमण फेला परेसँगै संक्रमित क्षेत्रमा सतर्कता उच्च बनाइएको छ । कास्की जिल्लामा पन्छी भित्रने नाकाहरुमा कडाई गरिएको छ भने संक्रमित क्षेत्रमा २७ गतेसम्म पन्छी तथा पन्छीजन्य वस्तु ओसार पोसारमा प्रतिबन्ध लगाइएको छ ।
आजै ४ किल्ला भित्रका पन्छी र पन्छीजन्य पदार्थ नष्ट गर्ने काम भइरहेको छ । यसका साथै बुधबारदेखि २७ गतेसम्म जोखिम क्षेत्रमा पंक्षी र पंक्षीजन्य पदार्थको ओसारपसारमा रोक लगाइएको छ ।

