महेन्द्रनगर । गत कात्तिक पहिलो साता कञ्चनपुरमा आएको बमौसमी वर्षाका कारण ६९ हजार २७३ मेट्रिक टन धान क्षति भएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा डिलबहादुर विष्टले यस पटक १ लाख ९३ हजार ९८४ मेट्रिक टन धान यहाँ उत्पादन भएको जानकारी दिनुभयो । “उत्पादन भएको मध्ये ६९ हजार २७३ मेट्रिक टन क्षति भयो”, उहाँले भन्नुभयो, “कूल ४८ हजार ४९३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको मध्ये करिब ३५ प्रतिशत क्षति हुन पुग्यो ।”
धान खेती समेट्ने बेला आएको वर्षातले खेतमै धान कुहिनुका साथै बाढीले बगाएर लगेको थियो । खेतीको विवरण सङ्कलन गरिए पनि किसानले सरकारबाट अहिलेसम्म राहत भने पाएका छैनन् । यहाँबाट लगत सङ्कलन गरेर प्रदेश कृषि मन्त्रालयमा पठाइएको छ । रासस

