काठमाडौँ । छत्रकोट गाउँपालिका गुल्मीले ‘कृषक पेन्सन (प्रोत्साहन भत्ता)’ कार्यक्रम ल्याएको छ । गाउँपालिकाकाले वर्तमान परिस्थितिमा कृषकको भुमिकालाई गौण मान्न नहुने तथा किसानका श्रम तथा पसिनाको महत्व दर्साउँदै उक्त कार्यक्रम ल्याएको हो ।
कृषकलाई प्रोत्साहान तथा उत्पादन वृद्धिमा टेवा तथा प्रोत्साहन मिलोस् भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम ल्याएको गाउँपालिकाकी उपमेयर नर्मदा भण्डारीले बताउनुभयो।
गाउँपालिका तथा कृषि शाखाका टोली प्रत्येक किसानको घर पुगी तथ्यांक संकलन गरी, अनुगमन टोली तथा प्रत्येक वडाबाट किसानको आम्दानी र कृषि उत्पादनको रुजु गरी पेन्सन वितरणका लागि ‘क’, ‘ख’ र ‘ग’ गरी कृषकको वर्गिकरण गरिएको उहाँले बताउनुभयो ।
वार्षिक तीन लाख ४० हजारभन्दा बढी कमाउने किसानलाई ‘क’ वर्गको किसानमा राखिएको छ । पेन्सन भने ‘क’ वर्गका किसानले मात्र पाउने छन् । मासिक एक हजारको दरले ६(६ महिनाको अन्तरालतमा किसानलाई पेन्सन प्रदान गरिने पनि उहाँले बताउनुभयो ।
किसानले निरन्तर कृषि कर्ममा लागे मात्र पेन्सन पाउने उहाँले जानकारी दिनुभयो । यस वर्ष पेन्सन पाएका किसानले अर्को वर्ष कृषिमा निरन्तरता नदिएमा पेन्सन रद्दसमेत हुने उहाँले बताउनुभयो ।
दसोैँ गाउँसभामा गाउँपालिककाको प्रगति विवरण तथा कार्यक्रम योजना अन्तर्गत उक्त योजना आएको थियो । सोही कार्यक्रममा करिब ३१ जना ‘क’ वर्गका किसानलाई पेन्सन (प्रोत्साहन भत्ता) प्रदान गरिएको थियो ।

