मनाङ / समुद्री सतहदेखि १ हजार ८ सय ८० मिटरदेखि ८ हजार १ सय ६३ मिटरसम्म रहेको मनाङ रैथाने खेतीबालीमा आत्मनिर्भर छ । मनाङको कुल क्षेत्रफल २ हजार २ सय ४६ वर्ग किलोमिटर भूभागमा समेटिएको छ भने २ लाख २४ हजार ६ सय हेक्टरमध्ये खेतीयोग्य जमिन २ हजार १ सय ५६ रहेको छ ।
खेतीयोग्य भूमिको २ हजार १७ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । त्यसमा १ हजार ६३ हेक्टर जमिन सिञ्चित क्षेत्र हो भने अन्य क्षेत्रमा प्राकृतिक रूपमा खेती हुन्छ । रैथाने बाली भन्नाले स्थानीय जातका परम्परागत रूपमा गरिँदै आएका अन्नबालीलाई बुझिन्छ ।
जौ स्थानीय हावापानी र माटो सुहाउँदो हुन्छ । मनाङमा रैथाने बालीका रूपमा आलु, गहुँ, फापर, करु, उवा र कोलु बोडीलाई लिइन्छ । विगतदेखि नै यिनै रैथाने बालीमा नै आत्मनिर्भर हिमाली जिल्ला मनाङ छ । अहिले कतिपय स्थानमा रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् भने कतिपय स्थानमा सामान्य अर्थात् नगण्य मात्रामा मात्र खेती हुने गरेको पाइन्छ ।
कृषि ज्ञान केन्द्रका अनुसार नार्पाभूमि गाउँपालिकामा रैथाने बाली प्रायः लोप हुने अवस्थामा पुगेको छ । त्यसैगरी ङिस्याङ गाउँपालिकाका सबै वडामा रैथाने बाली लोप हुने अवस्थामा पुगेको छ । दिनानुदिन वातावरणमा आएको परिवर्तनले रैथाने बाली हराउन थालेका स्थानीयवासी बताउँछन् । यसलाई सुहाउँदो वातावरणमा अभावले पनि खेतीबाली फेरिन थालेका कृषि ज्ञान केन्द्रका प्रमखु मदन रेग्मीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘रैथानेबालीको उत्पादनमा ह्रास आउन थालेपछि विकासे (हाइब्रिड) खेतीपातीतर्फ किसान लागेका पाइन्छ तर रैथाने बालीको उत्पादकत्वको आधारमा किसान सचेत हुँदै आकर्षित भएका पाइन्छ ।’ विगत ४ वर्षको तथ्याङ्क हेर्ने हो भने अन्य रैथाने बालीको तुलनामा स्थानीय आलुखेतीमा वृद्धि भएको पाइन्छ ।
विगतदेखि नै अन्य खेतीको तुलनामा आलुको बढी माग तथा खपत हुन थालेकाले व्यावसायिक खेती अर्थात् नगदेबालीका रूपमा विकास भएको पाइन्छ । तर अन्य बाली लगाउन धेरै जनशक्ति लाग्ने र अभाव हुँदा समस्या भने हुने गरेको स्थानीयवासी बताउँछन । कोभिड–१९ तथा बाढी पहिराेको विपद्को वर्षबाहेक अन्य वर्षमा उत्पादकत्व वृद्धि भएको ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
मनाङको तल्लो भेगमा अन्य बाली जस्तै मकै, आलु, करु, गहुँ, जौ, फापर, कोदो बोडीलगायतका बाली लगाइन्छ । गोलभेँडा, काउली, फर्सी, प्याज, लसुन, साग, मूला, गाजरलगायतका तरकारी यहीँ खपत हुन्छ । जलवायु परिवर्तनले खेती फेर्नुपर्ने अवस्था देखिएको ज्ञान केन्द्रको अध्ययनले देखाउँछ । विगतमा नहुने खेती र यहाँको तापक्रम वृद्धिले असर पारेको खेतीबालीमा देखिएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा २ सय ८६ हेक्टर क्षेत्रफलमा गरिएको फापरखेतीबाट ५ सय ४ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । झन्डै १ सय ११ हेक्टर क्षेत्रफलमा गरिएको जौखेतीबाट १ सय ७५ मेट्रिकटन उत्पादन भएको छ । ७ सय ४५ हेक्टर क्षेत्रफलमा १४ हजार ९ सय ७५ मेट्रिकटन स्थानीय प्रजातिको आलु उत्पादन भएको केन्द्र प्रमुख रेग्मीले बताउनुभयो ।
त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा ७० हेक्टर क्षेत्रफलमा उवा/करुखेती गरिएको तथ्याङ्कमा उल्लेख छ । त्यसअघि यी खेतीको तथ्याङ्क अभिलेखीकरण गरिएको पाइँदैन । झन्डै ७० हेक्टर जमिनमा गरिएको उवा/करुखेतीबाट १ सय १५ मेट्रिकटन उत्पादन भएको छ । यस आर्थिक वर्षमा फापरखेतीको क्षेत्रफल ७५ हेक्टर वृद्धि भएको छ । ३ सय ६१ हेक्टर क्षेत्रफलमा गरिएको फापर खेतीबाट ६ सय १० मेट्रिकटन उत्पादन भएको छ । जौखेतीको क्षेत्रफल घटेर ४० हेक्टर पुगेको छ ।
यस वर्ष आलुखेतीको क्षेत्रफल पनि घटेर ७ सय ३५ हेक्टरमा झरेको छ । याे क्षेत्रफलमा गरिएको खेतीबाट ८ हजार १ सय ९० मेट्रिकटन आलु उत्पादन भएको छ । आर्थिक वर्ष २०७९/८० मा ७० हेक्टरमा उवा/करुखेती गरिएको छ । याे क्षेत्रफलमा गरिएको खेतीबाट १ सय १२ मेट्रिकटन उवा/करु उत्पादन भएको छ । ३ सय २ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ३ सय २० मेट्रिकटन फापर उत्पादन भएको छ ।
त्यस्तै ४० हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ६५ मेट्रिकटन जौ उत्पादन भएको छ । ७ सय ३७ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ९ हजार २ सय १२ मेट्रिकटन आलु उत्पादन भएको केन्द्रले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा १ सय ५ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट १ सय ९३ मेट्रिकटन उवा/करु उत्पादन भएको छ । झन्डै २ सय १२ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट २ सय १६ मेट्रिकटन फापर उत्पादन भएको छ । झन्डै २० हेक्टर क्षेत्रफलमा गरिएको खेतीमार्फत ३७ मेट्रिकटन जौ उत्पादन भएको छ भने ६ सय ३२ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ९ हजार १ सय ३२ मेट्रिकटन आलु उत्पादन भएको छ ।
यस तथ्याङ्कका आधारमा रैथाने बाली खेतीतर्फ आकर्षण घट्दै गएको देखिन्छ । जलवायु परिवर्तनको असर जति बढ्दै गएको छ, उति नै खेतीयोग्य भूमि बाँझो बन्दै गएको पाइएको प्रमुख रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘रैथाने खेतीतर्फ किसान आकर्षित छन्, उत्पादन यहीँ खपत हुन्छ तर व्यवसाय परिवर्तनले प्रभाव पारेको छ ।’
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र काठमाण्डाैका अनुसार कम जग्गामा बढी उत्पादन र उन्नत जातको खेती गर्ने उद्देश्यले अहिले उत्पादन बढी लिने उद्देश्यले गर्दा रैथाने खेती लोप हुने अवस्थामा पुगेको छ । संरक्षण केन्द्रका अनुसार फापर, कोदो, जौ, कागुनो, च्युनो, उवा, लट्टे, जुनेलो, मस्याम, गहत, खेसरी, भॉगे सिमी, सिलाम, झुसे तिल आदिलाई स्थानीय तथा रैथाने बालीमा सूचीकृत गरिएको छ ।
समग्रमा भन्ने हो भने मनाङलगायत देशभरबाटै कतिपय रैथाने बाली लोप भइसकेका छन् भने कतिपय लोपोन्मुख र सङ्कटापन्न अवस्थामा रहेका छन् । त्यसैले तीनै तहका सरकारले (कृषि अनुसन्धान केन्द्र) ले रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा ध्यान दिँदै रैथाने बालीको वैज्ञानिक तथा आधुनिक प्रविधियुक्त प्रजातिको विकास गरी उन्नत बीउबिजनबाट उत्पादनलाई जोड दिएको छ । रासस

