डोल्पा । हिमाली जिल्ला डोल्पामा कृषक लक्षित कृषि कार्यक्रम, अनुदान तथा प्रस्ताव आह्वानसम्बन्धी सूचना गाउँगाउँमै पुगेर जानकारी गराउन थालिएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ (स्याउ जोन) ले कार्यालय प्रमुखसहितको टोली परिचालन गरी कृषकलाई प्रत्यक्ष सूचना दिन थालेको हो।
चालु आर्थिक वर्ष २०८३/८४ का कार्यक्रमबारे टोलीले आवेदन प्रक्रिया, आवश्यक कागजात, प्रस्ताव पेस गर्ने समयसीमा तथा कृषक तथा कृषि फार्म सूचीकृत हुने प्रक्रियाबारे जानकारी गराइरहेको छ।
कार्यक्रम कार्यान्वयन एकाइका निमित्त कार्यालय प्रमुख तथा कृषि अधिकृत गोविन्द मल्लका अनुसार सूचना तथा सञ्चारको पहुँचबाट टाढा रहेका कृषकलाई कार्यक्रमबारे समयमै जानकारी गराउने उद्देश्यले गाउँमै पुगिएको हो।
यस क्रममा मल्लसहित गणेश शाहीको टोलीले त्रिपुरासुन्दरी नगरपालिका–३ का जिउँ गाउँ, सुँ गाउँ तथा वडा नं. ४ को रंगगाउँ पुगेर कृषकसँग भेटघाट गरी कृषि व्यवसाय र उत्पादनको अवस्थाबारे समेत जानकारी लिएको छ।
कार्यालयले सूचना नपाएर कुनै लक्षित कृषक अवसरबाट वञ्चित नहोस् भन्ने उद्देश्यले गाउँस्तरमा सूचना प्रवाहलाई निरन्तरता दिने जनाएको छ।

