नेपाली भान्सामा स्वाद बढाउने प्रमुख तत्वको रूपमा चिनिने हरियो खुर्सानी केवल मसला मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि निकै लाभदायक मानिन्छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार, हरियो खुर्सानीमा पाइने क्याप्साइसिन नामक तत्वले शरीरको मेटाबोलिजमलाई सक्रिय बनाउने, सूजन कम गर्ने र रक्त संचार प्रणालीलाई सुदृढ पार्ने काम गर्छ। यसले शरीरलाई तौल नियन्त्रणमा राख्नका साथै थकान र ऊर्जा अभावको समस्यामा पनि राहत दिन सक्छ।
भिटामिन ‘ऋ’ र ‘ब्’ को भरपूर स्रोत मानिने हरियो खुर्सानीले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने कार्य गर्छ। नियमित रुपमा यसको उपयुक्त मात्रामा सेवन गर्दा रुघाखोकी, भाइरल संक्रमण तथा अन्य सामान्य रोगबाट बच्ने क्षमता बढ्छ। साथै, यसमा पाइने एन्टीअक्सिडेन्टहरूले क्यान्सरजस्ता जटिल रोगहरूको जोखिम घटाउने वैज्ञानिक अध्ययनहरूले देखाएका छन्।
यसबाहेक, हरियो खुर्सानीले पाचन प्रणालीलाई सक्रिय बनाउँछ, जसले खाना सजिलै पच्न सहयोग पुर्याउँछ। विशेषगरी तीतो र मसालेदार खानेकुरा मन पराउने नेपाली समाजमा यसको नियमित प्रयोगले अम्लपित्तजस्ता समस्या कम गर्न सघाउँछ। मनोवैज्ञानिक दृष्टिकोणले पनि यो फलदायी मानिन्छ, किनभने खुर्सानी सेवनले शरीरमा ‘एन्डोर्फिन’ नामक रसायन स्राव हुने गर्छ, जसले तनाव कम गरेर मन प्रसन्न बनाउँछ।
तर, स्वास्थ्य लाभ लिनका लागि यसको सेवन सन्तुलित मात्रामा हुनुपर्छ। अत्यधिक सेवनले पेटको जलन, ग्यास्ट्रिक, र अल्सरजस्ता समस्याहरू निम्त्याउन सक्छन्। त्यसैले, विशेष रूपमा पेटको समस्याबाट पीडित व्यक्तिहरूले चिकित्सकको सल्लाह अनुसार मात्र सेवन गर्नु उपयुक्त हुन्छ।
नेपाली भान्साको साधारण देखिने यो हरियो मसला वास्तवमै एक प्राकृतिक औषधिको रूपमा काम गर्न सक्छ। स्वाद मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि हरियो खुर्सानीले हाम्रो जीवनशैलीमा सकारात्मक प्रभाव पार्न सक्छ भन्ने तथ्यलाई अब बेवास्ता गर्न सकिन्न।

