भक्तपुर / भक्तपुर नगरपालिकाले आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
कृषि उत्पादनको व्यवस्थित बिक्री/वितरणका वडा नम्बर ५ मा निर्माणाधीन तरकारी बजार सञ्चालनमा ल्याइने नगरपालिकाले जनाएको छ । किसानको सुविधाका लागि कानुन बनाई कृषि ऋणको व्यवस्था गरिने उल्लेख छ । स्थानीय उत्पादन प्रवर्द्धन तथा खरिद प्रक्रियाका लागि उत्साहित गर्ने नीति बनाइने नगरपालिकाले जनाएको छ ।
युवाहरूलाई आत्मनिर्भर बनाउन सहुलियत ब्याजदरमा युवा उद्यमशीलता ऋण वितरणलाई निरन्तरता दिइने उल्लेख छ । जुजु धौ, ताइचिन चिउरा, हाकुपटासी, भादगाउँले टोपी, तोरीको तेल, काष्ठकला, धातुकला, हस्तकला, मुकुण्डो निर्माणलगायत घरेलु उत्पादनलाई प्रोत्साहित गरिने उल्लेख छ ।

