चितवन । चालु आर्थिक बर्षमा चितवनमा कृषि क्षेत्रको बजेट घटेको छ । संघ, प्रदेश र स्थानिय तहका कार्यालयबाट सञ्चालित हुने कृषिको बजेट यसपटक घटेको छ । कृषि ज्ञान केन्द्र चितवनमा भएको सार्वजनिकीकरण कार्यक्रममा सरोकारवालाले बजेट घटेको बताएकाछन् ।
कृषि ज्ञान केन्द्र चितवनमा मात्रै गत आर्थिक बर्षभन्दा चालु आर्थिक बर्ष २०८०र२०८१मा पाँच करोड ७५ लाख ८७ हजार रुपैयाँ बजेट घटेर आएको छ । बागमती प्रदेशले चितवन र हेटौँडा हेर्दै आएको कार्यालयलाई कृषि कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक बर्ष १३ करोड ९१ लाख ७६ हजार रुपैयाँ प्राप्त भएको छ । अघिल्लो आर्थिक बर्ष २०७९र०८०मा कार्यालयको बजेट १९ करोड ५७ लाख ६३ हजार रुपैयाँ थियो ।
चितवनका स्थानीय तहले पनि कृषिमा बजेट घटाउँदै लगेका छन् । गत बर्ष तीन करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको माडी नगरपालिकाले यस बर्ष एक करोड बजेट विनियोजन गरेको कृषि शाखा प्रमुख किरण उपाध्याले जानकारी दिनुभएको छ । रत्ननगरका कृषि शाखा प्रमुख प्रविण लामाका अनुसार रत्ननगरमा चालु आर्थिक बर्षमा संघ, प्रदेश, स्थानीय तह र नगर गौरव आयोजना मार्फत तीन करोड २३ लाख रुपैयाँ कृषिमा बजेट विनियोजन भएको छ ।
भरतपुर महानगरपालिकाले कृषिमा ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै कालिका नगरपालिकाले एक करोड ११ लाख, राप्ती नगरपालिकाले ९८ लाख, खैरहनी नगरपालिकाले दुइ करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यस्तै चितवनमा रहेर बागमती प्रदेश हेर्दै आएका कृषिका कार्यालयहरुको बजेट पनि न्यून छ । उनीहरुको बजेट स्थानीय तहले कृषिमा ल्याएका कार्यक्रमभन्दा कम देखिएको छ । भण्डारामा रहेको मौरीपालन विकास कार्यक्रममा दुई करोड १५ लाख ६८ हजार र किम्बु नर्सरी विकास केन्द्रको बजेट एक करोड ८३ लाख रुपैयाँ छ ।

