चितवन । चितवनको कालिका नगरपालिकामा व्यक्तीको नाममा पुगेको २८ कठ्ठा सार्वजनिक जमिन पालिकाको नाममा कायम भएको छ । सार्वजनिक जमिन व्यक्तीको नाममा पुगेपछि कालिका नगरपालिका वडा नं. ३ का निवर्तमान वडा अध्यक्ष टिका रिजालले सो जमिनलाई पालिकाको नाममा ल्याउनका लागि अगुवाई गर्नुभएको थियो ।
साविक पदमपुर गाविसको नाउँमा रहेको कालिका वडा नं ३ को १ विगहा ८ कठ्ठा जग्गा व्यक्तिको नाउँमा कायम भएको भन्दै नगरपालिकाले पुनरावलोकनका लागि दिएको निवेदनपछि पुनः पालिकाकै नाउँमा कायम राख्न सर्वोच्च अदालतले फैसला सुनाएपछि फिर्ता हुने भएको हो ।
गाउँ विकास समितिको फिल्डबुक कायम गरिएको जग्गा मनबहादुर ठकुरी समेतगरी ९ जनाको नाउँमा गएको विषयलाई लिएर कालिका नगरपालिकाले सर्वोच्च अदालतमा पुनरावलोकनका लागि आवेदन दिएका थिए । सर्वोच्चले २०७९ मंसिर ८ गते मुद्धाको पुनरावलोकनगरी उक्त जग्गा पुनः पालिकालाईनै कायमगर्ने फैसला सुनाएको हो ।
मनोजकुमार शर्मा, तिलप्रसाद श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो । उनीहरुको नाउँमा पुरानो पदमपुरमा रहेको जग्गाकोे अनुपातमा उचित मुआब्जा वा उपयुक्त स्थानमा जग्गा सट्टाभर्ना दिन समेत सर्वोच्चले परमादेशको आदेश हुने ठहर गरेको छ ।
२०६० सालमा पदमपुर स्थानान्तरणसँगै २० विगहा जग्गा पदमपुर गाउँ विकास समितिको नाउँमा फिल्डबुक कायम भएको थियो । २०६९ सालमा फिल्डबुकै आधारमा साविक पदमपुर गाउँविकास समितिकै नाउँमा लालपुर्जा बन्यो । मनबहादुर ठकुरी सहित गरी ९ जनाको नाउँमा प्रति व्यक्ति तीन कट्ठाको दरले १ विगहा ७ कट्ठा जग्गा व्यक्तिको भएको फैसला सुनायो । सर्वोच्चको फैसला आएपछि कालिका नगरपालिकाले २०७५ माघ २४ गते उक्त जग्गाको विषयमा पुनरावलोकनगरी पालिकाकै नाउँमा कायम राख्न सर्वोच्चमा आवेदन दिएको थियो ।
अदालतले एकविगहा आठ कट्ठा जग्गाबाट प्रति निवेदक ३ कट्ठाका दरले जग्गा सटाभर्ना दिनु दिलाउनु भनी विपक्षीहरुको नाममा परमादेशको आदेश जारी गरिदिएको छ ।

