काठमाण्डौ / नेपालबाट भारतमा एक महिनाको अवधीमा ११ लाख किलो गोलभेँडा निर्यात भएको छ । आर्थिक वर्ष २०७९/८० मा १० लाख ९४ हजार किलो गोलभेँडा भारत निर्यात भएको थियो । सो परिमाणको गोलभेँडा निर्यातबाट नेपालले एक करोड ४९ लाख रूपैयाँ आम्दानी गरेको छ।
भन्सार विभागको तथ्यांकअनुसार उक्त परिमाणको गोलभेँडा असारमा मात्रै निर्यात भएको छ। गत साउनदेखि जेठसम्म भने यहाँबाट भारत निर्यात भएको छैन। असारमा मात्रै भारतबाट पनि नेपालमा ५० लाख किलो गोलभेँडा आयात भएको विभागको तथ्यांकले देखाएको छ।
आर्थिक वर्ष २०७८/७९ मा ४० किलो गोलभेँडा भारत निर्यात भएको थियो । केही महिना अघिदेखि भारतमा गोलभेँडाको मूल्य आकाशिएको छ। एक महिनाअघिसम्म पनि भारतीय बजारमा गोलभेँडा किलोको एक सय २० देखि एक सय ५० भारूमा कारोबार भइरहेको थियो। अहिले भारतको मुम्बईमा गोलभेँडा किलोकै दुई सय रूपैयाँमाथि पुगिसकेको छ ।

