चितवन । चितवनको कालिका नगरपालिकामा वुङखोलाको डुवान समस्या समाधान गर्न नगरपालिकाले काम सुरु गरेको छ । पहाडी क्षेत्रबाट बगेर आउने खोला हरेक बर्ष बस्ती प्रवेश गरेर दुःख दिन थालेपछि खोलाको व्यवस्थापनमा नगरपालिकाले सक्रियता देखाएको हो ।

वुङखोलाबाट करिब सात सय मिटर लामो, तीन मिटर चौडाइको नहर खनेर पानीलाई थाङखोलामा झार्न लागिएको छ । थाङखोला हुँदै खगेरीसम्म गरिने पहिलो चरणको काम सम्पन्न गरिएको छ ।

थाङखोलामा पानी झारेर खगेरी खोलामा मिसाउनसक्ने गरी काम गरेको उपभोक्त समितका अध्यक्ष टिकाराज रिजालले जानकारी दिनुभयो । वुङखोलाबाट थाङखोला हुँदै खगेरीको कामिनीघाटसम्मको दूरी साढे ६ किलोमिटरको दुरीमा पहिलो चरणमा गरिने काम सम्पन्न भएको उहाँले बताउनुभयो ।

वुङखोलाले कालिकाका १५ हजारभन्दा बढी मान्छेहरूलाई प्रभावित गर्दै आएको जानकारी दिदैँ रिजालले यो बाढीको समस्या अन्त्य गर्न पानी बढी भएको समयमा थाङखोलातिर पठाउन लागिएको जानकारी दिनुभयो । आगामी वर्षदेखि यहाँ डुवानको समस्या अन्त्य हुने उहाँले बताउनुभयो ।

खोला व्यवस्थापनको लागि नहर निर्माणसँगै अहिले थाङखोलाको साँघुरो क्षेत्र फराकिलो बनाइएको , तटबन्ध र स्पर निर्माण गरिएको अध्यक्ष रिजालले जानकारी दिनुभयो । यो कामका लागि नगरपालिकाले ७० लाख र सिँचाइ डिभिजन कार्यालयले ३० लाख रूपैयाँ लगानी भएको उहाँले बताउनुभयो ।

वुङखोलाको पानी डाइभर्ट गर्न खोलामा करिब ८४ मिटर लामो ड्याम बनाउन बाँकी रहेको जानकारी दिदै उहाँले अहिले खोलाबाट करिब ५० मिटर भाग छोडेर नहर बनाइएको बताउनुभयो । वुङखोलाले वडा नम्बर १, २, ३, ६ र ७ लाई असर पार्ने गरेको छ । सिँचाइलाई चाहिनेभन्दा बढी पानी अर्को खोलामा मिसाउँदा पदमपुरवासी डुवानबाट बच्ने उहाँले बताउनुभयो । अहिले १३ वटा स्पर समेत बनाइसकिएको उहाँले बताउनुभयो ।


