काठमाण्डौ । काठमाण्डौको मुख्य थोक बजार कालीमाटीमा आज गोलभेँडाको कारोबार सामान्य रुपमा भइरहेको छ । आज कालीमाटीबाट पोखरा, नारायणगढलगायत सहरमा पनि गोलभेँडा पठाइएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
हिजो मूल्य नपाएको भन्दै किसानसहित व्यापारीले गोलभेँडा फालेर विरोध गरेका थिए । आज भने बिहानैदेखि सामान्य रुपले गोलभेँडाको कारोबार भइरहेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बजारमा आज हिजो भन्दा गोलभेँडा कम भित्रिएको छ ।
हिजो ९५ टन गोलभेँडा भित्रिएकोमा आज ८६ टन मात्रै भित्रिएको छ । भाउ भने हिजो र आज एउटै छ । हिजो पनि नेपाली टनेलको सानो गोलभेँडा किलोको ६ देखि १० रुपैयाँ थोक मूल्य थियो भने आज पनि मूल्य उही छ । सलादमा प्रयोग हुने ठूलो गोलभेँडा भने किलोको ३० देखि ४० रुपैयाँ थोक मूल्य छ ।
बजार भारतीय गोलभेँडाले ओगटेको आरोप लागिरहँदा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भने यसको खण्डन गरेको छ ।

