चितवन । चितवनको भरतपुर महानगरपालिकाले गरेको बजार अनुगमनको क्रममा गुणस्तरहीन मासु र ममलाई बरामदगरी नष्ट गरिएको छ । भरतपुर–१० स्थित मालिका फ्रेस हाउस र किङ मममा अनुगमन गर्ने क्रममा सो समाग्री फेला परेको थियो ।
अनुगमनका क्रममा मालिकाको फ्रिजमा भेटिएको पाँच बोरा मासु र किङ ममको उत्पादन लेबल नभएको एक हजार प्लेट फ्रोजन मम बरामद गरी महानगरको परिसरमा खाल्डो खनेर नष्ट गरिएको छ । अनगुमन टोलीले मालिका फ्रेस हाउस बन्द समेत गरेको छ ।
फ्रिजमा केही मासु सड्न लागेको अवस्थामा फेला परेको थियो । सबै किसिमका मासु एउटै फ्रिजमा अव्यवस्थित तरिकाले राखेको भेटिएपछि मासु बरामद गरिएको बताइएको छ । मालिकाबाट मासु किनेर किङ ममले फ्रोजन मम बनाउने गरेको पाइएको छ ।
फ्रोजन मम सप्लाई गर्दै आएको किङ ममले फ्रोजन ममको प्याकेटमा लेबल राखेको थिएन । प्याकेजिङ गरिएको खाद्यवस्तुमा अनिवार्य लेबल राख्नुपर्ने हुन्छ । खाद्यवस्तु उत्पादन गर्ने उद्योगले अनुज्ञा पत्रसमेत लिनुपर्ने भएपनि किङ ममले अनुज्ञा पत्र लिएको थिएन ।

