चितवन । भरतपुर क्षेत्रमा गुणस्तरहिन भनी फालिएका फलफुल र तरकारी कालिका नगर क्षेत्रमा ठेलामा विक्री हुनेगरेको गुनासो आउन थालेको छ । आइतवार कालिका नगरपालिकाले आयोजना गरेको सुझाव संकलन कार्यक्रममा पनि यो बिषय उठेको छ ।
नगरपालिकाले नीति तथा कार्यक्रमका लागि राखेको सुझाव संकलन कार्यक्रममा सहभागिले नगरपालिकाले नगर क्षेत्रमा अव्यवस्थित रुपमा विक्री वितरण गर्ने ठेलालाई व्यवस्थापन गर्नुपर्ने सुझाव दिए । अन्यत्र क्षेत्रमा गुणस्तरहीन भनी फालिएका सामानलाई ठेलामा राखी कालिकाका टोलटोलमा लगेर विक्री गर्ने क्रम बढेकोले निगरानी राख्न सुझाव दिएका छन् ।
भरतपुर क्षेत्रमा फालिएका गुणस्तरहीन तरकारी र फलफुल कालिकाको फुटपाथ र ठेलामा विक्री हुने गरेको स्थानीय टेक बहादुर बस्नेतले बताउनुभयो । यस्ता सामान विक्रीमा स्थानीय भन्दा बाहिरका व्यपारी सक्रिय भएको उहाँले बताउनुभयो । केही समय अगाडि गुणस्तरहीन भनी फालिएका केरा बाहिरका व्यपारीले कालिकामा ल्याएर विक्रीसमेत गरेको गुनासो आएको बताउदै उहाँले फुटपाथ र ठेलामा बाहिरका व्यक्तिले विक्री गर्ने तरकारी र फलफुलको गुणस्तरका बिषयमा नगरपालिकाले अनुगमन गर्नुपर्ने बताउनुभयो ।
नगरपालिकाले नगरक्षेत्र भित्र भएका फुटपाथ पसल र ठेलामा तरकारी फलफुल व्यापार गर्नेहरुलाई नियम बनाएर निगरानीमा राख्नुपर्ने उहाँले बताउनुभयो । अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिदैँ उहाँले मानव स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने दैनिक उपभोग्य वस्तुको खरिद विक्रीसंगै गुणस्तरको बिषयमा संवेदनशिल हुनुपर्ने बताउनुभयो ।

