चितवन । चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरणका अभियुक्त जीवन रावललाई चितवन जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । न्यायाधीश मातृका आचार्यको इजलासले रावललाई थुनामा पठाउन आदेश दिएको हो । सरकारी वकिलको कार्यालयले रावलविरूद्ध आत्महत्या दुरूत्साहनको मुद्दा दर्ता गरेपछि दुई दिनसम्म थुनछेक बहस चलेको थियो ।
जाहेरवालातर्फको सरकारी वकिलसहित १० जना अधिवक्ताले मृतकको परिवारको पक्षबाट मुद्दामा बहस गरेका थिए । आत्महत्या प्रकरणका मुख्य अभियुक्त प्रदीप रूङ्गटा अझै फरार छन् । पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना मागदाबी गरी अभियुक्तहरु रावल र रूङ्टाविरूद्ध मुद्दा दर्ता भएको हो । कँडेलले लेखेको सुसाइड नोटमा आफूले मृत्यु रोज्नुको मुख्य कारक व्यक्ति रूङ्टा नै रहेको उल्लेख गरेपछि भाइले दुई जनाविरूद्ध प्रहरीमा जाहेरी दिएका थिए ।
रूङ्टाको आर्थिक कारोवार सबै रोकिएको छ । रूङ्टालाई अनमोल फिड्स बेचेर १५ प्रतिशत शेयर कँडेल आफैँले राखेका थिए । वैशाख १९ गते आफ्नै कार्यकक्षमा उनले आत्महत्या गरेका थिए ।

