चितवन । चितवनको कालिका नगरपालिका वडा नं ६ निवासी यदु प्रसाद खतिवडाले सामाजिक सेवा अवधीको अधिकांश समय खानेपानीकै सेवामा विताउनु भएको छ । खानेपानी र सिचाईसंग सम्वन्धीत गाउँमा सञ्चालन हुने हरेक गतिविधीमा उहाँको सक्रियता निरन्तर रहँदै आएको छ ।
जुटपानीमा रहेको कयरखोला भुत्याहा वेलचौर जल उपभोक्ता समितिको कोषाध्यक्ष भएर काम सुरु गर्नुभएको उहाँले अहिलेसम्म निरन्तर पानीसंग सम्वन्धीत संघसंस्थामा आवद्ध भएर सेवा दिदै आउनुभएको छ । कयरखोला भुत्याहा वेलचौर जल उपभोक्ता समितिमा रहेर कामगर्दा अस्थायी संरचनामा रहेको कुलाको स्थायी निर्माणको काम सुरुवात गर्न प्रमुख भुमिका खेल्नुभएको थियो ।
२०५० सालमा आएको बाढीले वस्ती प्रभावित भएपछि बुढीकुलो तटवन्धन व्यवस्थापन समिति गठन गरी खोलामा तटवन्धनको काम सुरुवात गराउन भुमिका खेल्नुभएको थियो । सो समितिमा सदस्यको जिम्वेवारीमा रहेर कयरखोलासंग जोडिएको बुढीखोला तटवन्धन गर्न उहाँको महत्वपूर्ण भुमिका रहेको थियो ।
वाँसघारी मझुवा खानेपानी तथा सरसफाई उपभोक्ता समिति लगायत स्थानीय स्तरमा भएका अन्य खानेपानीसंग सम्वन्धीत आयोजनामा आवद्ध रहेर गाउँमा पानीको व्यवस्थापन गर्न उहाँको भुमिका महत्वपूर्ण रहदै आएको छ ।
यही क्रममा अलपत्र अवस्थामा रहेको जुटपानीको खानेपानी आयोजनालाई अगाडी बढाउने प्रयासको क्रममा समिति बनाउदा जुटपानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संस्थापक अध्यक्षको रुपमा जिम्वेवारी लिएर खतिवडाले काम सुरु गर्नुभएको थियो ।
२०६७ सालमा यो समिति स्थापना हुनुभन्दा अगाडी यहाँको स्थानीयहरुलाई साइकल र डोकोमा पानी वोकेर खानेपानीको जोहो गर्नुपर्ने वाध्यता थियो । दुई किलोमिटर टाढासम्म पुगेर स्थानीयले पानी ल्याउने गर्थे । स्थानियको यो खानेपानी दुःख अन्त्यका लागि समिति वनाएर काम गर्ने सोचका साथ खतिवडाले यसको नेतृत्व गर्नुभएको थियो ।
समिति बन्दा पानीको पाइप, धारा, श्रोत, संरचना, जनशक्ती, बजेट केही थिएन । पुरानो संरचना अलपत्र अवस्थामा थियो । साविकको जुटपानी गाविससंग समन्वय गर्दै जिल्लामा रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भरतपुरको सहयोगमा पुराना संरचानको सरसफाई र मर्मत गरेर तत्कालको लागि अस्थायी रुपमा पानी खुवाने व्यवस्था गरेको खतिवडाले बताउनुभयो । विस्तारै सवैको सहयोग र मेहनत एवम् सहकार्यमा नयाँ पाइपको व्यवस्थापन गरेर पाइप विस्तार गरेको उहाँले बताउनुभयो । ६५ हजार मिटर पाईप विस्तार गरेर १८ सय घरधुरीमा पानी पुर्याउने काम आफ्नो कार्यकालमा गरेको खतिवडाले बताउनुभयो ।
तत्कालको आवश्यकता पुरा गर्नका लागि अलपत्र अवस्थामा रहेको पुरानो मुहानलाई सञ्चालन गरेपनि स्थाइ व्यवस्थापनका लागि बजेट र श्रोत व्यवस्थापन गर्नु अर्को चुनौती रहेको थियो । तर, निरन्तरको प्रयासपछि आफ्नै पालामा स्थायी संरचना निर्माणको सुरुवात भएको खतिवडाले बताउनुभयो । वोरिगंको लागि जग्गाको व्यवस्थापन गरिएको बताउदै उहाँले जुटपानीमा संस्थाको पुरानै जमिनमा र सिमलघारीमा दुई कठ्ठा १० धुर जमिन संस्थाकै नाममा खरिदगरी काम सुरु गरेको जानकारी दिनुभयो ।
आफु अध्यक्ष हुँदा समितीको कार्यालय समेत नभएको अवस्थामा कार्यालय स्थापना गरेर ७ जना कर्मचारीले काम गर्न सक्ने स्तरको संरचना तयार पारेको खतिवडाले बताउनुभयो । १८ सय उपभोक्ताहरुको घरमा पानीको मिटर जडान गरी मासिक लगभग ४ लाख रुपैयाँ राजश्व संकलन गर्न सक्ने अवस्थामा पुगेको बताउदै उहाँले खानेपानीसंग सम्वन्धीत राज्यका विभिन्न निकायहरुसंग समन्वय सहकार्य गर्नसक्ने हैसियतमा समितिलाई अगाडी बढाएको उहाँले बताउनुभयो ।
उपभोक्ताहरुबाट संकलन गरिने शुल्कलाई पारदर्शी बनाउन कम्प्युटर प्रणाली जोडिएको र अनलाईन प्रणालीबाट मिटर रिडिगं र शुल्क भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको उहाँले बताउनुभयो । पानीको शुद्धीकरण परिक्षणको लागि कर्मचारीलाई शिप सहितको व्यवस्थापन गरेको उहाँले जानकारी दिनुभयो ।
अलपत्र अवस्थामा रहेको खानेपानी संरचनालाई व्यवस्थित रुपमा अगाडी बढाई उपभोक्ताको घरसम्म पानी पुर्याउन आफ्नो कार्यकालमा सफल भएकोले आफु खुसी भएको बताउदै उहाँले आफुले जिम्वेवारी हस्तान्तरण गर्दा संस्थाको खातामा ६० लाख रुपैँया जम्मा गरेर छाडेको बताउनुभयो ।
विचमा ५ बर्ष नेतृत्वमा नरहेपनि आफुले बाहिरबाट सकेको सहयोग गर्दै आएको बताउदै खतिवडाले यो खानेपानी संरचनाको जगदेखिको ज्ञान आफुलाई भएको र काहाँ के गर्न आवश्यक छ भन्ने थाहा भएकोले आमउपभोक्ताको हितमा काम गर्नका लागि पुनः नेतृत्वमा रहेर काम गर्न इच्छा राखेको उहाँले बताउनुभयो । हरेक उभोक्तालाई २४ घण्टा नै नियमति र गुणस्तर पानी उपलव्ध गराउने लक्षका साथ काम गर्न आफुले उम्मेदवारी दिएको जानकारी खतिवडाले दिनुभयो ।

