चितवन । चितवनको राप्ती नगरपालिका भित्र पर्ने पर्यटकिय क्षेत्र परेवाकोटमा कफि खेति सुरु गरिएको छ । पुर्व पश्चिम राजमार्गको लोथरदेखि ९ किलोमिटर उत्तर तर्फमा परेवाकोट पर्दछ । यो ९ सय ८० मिटरको उचाईमा अवस्थित छ ।
चितवनका व्यवसायी धनबहादुर श्रेष्ठले अहिले परेवाकोटमा कफि खेति अभियान सुरु गर्नुभएको छ । मकवानपुर र चितवनको पहाडी क्षेत्रमा लगाउने गरी चार लाख बिरुवा तयारी बनाउनुभएको उहाँले स्थानिय कृषकलाई समुहमा आवद्ध गराएर कफि लगाउने अभियान सुरु गर्नुभएको छ ।
लगभग ३० बर्षसम्म उत्पादन दिने अरबी जातका कफि ३ सय देखि १ हजार मिटर उचाईसम्म फल्ने उहाँले बताउनुभयो । पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीय सरकारले पहल गरिरहेको यही ठाउँ परेवाकोटको डाँडैभरि बाह्रैमास हरियाली बनाउने योजनासहित कफि खेति सुरु गर्नुभएको हो ।
सुक्खा पाखामा माटो र हावापानीअनुसारको खेती गर्ने योजनासहित उहाँले कफीका बिरूवा उत्पादन गर्नुभएको हो । ब्राजिल जाँदा कफीखेतीबारे अध्ययन गर्ने मौका पाएको र सोही आधारमा यहाँको मौसम, माटो र हावापानी सुहाउँदो कृषिका लागि कफीखेती उपयुक्त हुने हुँदा परेवाकोटका स्थानीयलाई पनि यसैमा आत्मनिर्भर बनाउने योजना अनुसार कफि खेति सुरु गरेको उहाँले बताउनुभयो ।

अरोविका जातको कफीको बिरूवा उत्पादन गरेको जानकारी दिदै उहाँले आफ्नो निजी जमिन एक बिघामा लगाएर बाँकी सबै यहाँकै स्थानीयलाई सामूहिक खेती गराउने योजना रहेको उहाँले सुनाउनुभयो । दुई लाख बिरूवाले १८० बिघा जमिन ढाक्ने बताउदै उहाँले परेवाकोटमा समुह बनाएर सामुहीक रुपमा कफि लगाउने अभियान सुरु गरिने जानकारी दिनुभयो ।
यही जेठको अन्त्यसम्ममा यी सबै बिरूवा रोपिसक्ने गरी बारीको तयारी भएको बताउदै उहाँले नयाँ बिरूवा रोपेको दुई वर्षदेखि उत्पादन दिने कफीले आवश्यकताअनुसार मल–पानीको व्यवस्था भए एउटै बिरूवाले ३० वर्षसम्म निरन्तर उत्पादन दिने बताउनुभयो । एउटै बिरूवाले २० किलोसम्म उत्पादन दिने उहाँको दाबी छ ।
चितवनमा मात्र नभई मकवानपुरको मनहरी र सिलिङ्गेमा पनि कफीका बिरूवा उत्पादन गर्दै आउनुभएको उहाँले तीनैतिर गरेर करिब २५ लाख रूपैयाँ लगानी भइसकेको जानकारी दिनुभयो । चीनबाट व्यापार गर्ने तरिका र कफीखेतीबारे ब्राजिलबाट सिकेको बताउदै श्रेष्ठले कफि खेतिसंगै कफिको बजारलाई व्यवस्थित र विस्तार गर्ने योजना सहित काम सुरु गरेको बताउनुभएको छ ।
कफि खेतीका लागि चितवनमा परीक्षणकै चरणमा छ । चितवनको पहाडी क्षेत्र कफिका लागि उपयुक्त जमिन रहेको तत्कालिन कृषि विकास कार्यालय चितवनले आफ्नो पुस्तकमा नै उल्लेख गरेको थियो । राप्ती नगरपालिकाले कफिका लागि कुनै योजना नबनाएको तर यो खेती सफल भए सहयोग गर्ने नगरपालिका प्रमुख शमशेर लामाले बताउनुभयो ।

