काठमाण्डौ । पाँच वटा प्रदेशका ३४ जिल्लामा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना सुरु गरिएको छ । बाग्मतीसहित कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका ३४ जिल्लालाई कार्यक्रममा समेटिएको छ । कार्यक्रमले कोशीका ७, बाग्मतीका ३, गण्डकीका १०, कर्णालीका ९ र सुदूरपश्चिम प्रदेशका ५ वटा जिल्लालाई समेटेको छ ।
ती ३४ जिल्लाका सय वटा पालिकाका नागरिकको कृषिमा आधारित आम्दानी वृद्धि गर्न १० हजार धुरीको सहभागितामा एक हजार हेक्टरमा तरकारी तथा अन्य रैथाने बाली खेती र ३० हजार घरधुरीको सहभागितामा १० हजार हेक्टरमा बगैँचा स्थापना गर्ने लक्ष्य राखिएको छ ।
मध्यपहाडी लोकमार्ग आसपासका क्षेत्रलाई लक्षित गरी सुरु गरिएको यो आयोजनाले काष्ठफल, फलफूल र तरकारी एवम् अन्य रैथाने बालीमा ४० हजार घरधुरी समेट्ने भएको छ । पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना केन्द्रीय आयोजना व्यवस्थापन इकाइले सन् २०२९ सम्म आयोजना सञ्चालन हुने र १२ अर्ब ५५ करोड रुपैयाँ खर्च हुने जनाएको छ।

