काठमाण्डौ । राष्ट्रिय चिया दिवसको अवसर पारेर काठमाण्डौमा आज बिहीवारदेखि अन्तर्राष्ट्रिय चिया महोत्सव सुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको संयुक्त आयोजनामा बिहीवारदेखि काठमाण्डौको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय चौथो चिया महोत्सव सुरु भएको हो ।
महोत्सवको उद्घाटन कृषि, पशुपक्षीमन्त्री डा। वेदुराम भुसाल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले गर्नुभएको छ । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चियाको प्रवर्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय चिया महोत्सव गरिएको आयोजकले बताएको छ ।
आज काठमाण्डौमा सुरु भएको महोत्सव शुक्रवार र शनिवार इलाममा हुनेछ । चिया महोत्सवमा रुस, दुबई, चीन, अमेरिका, जापानका चिया व्यापारी सहभागी भएका छन् । विदेशी चिया व्यापारीलाई इलाममा स्थलगत भ्रमणसमेत गराउने आयोजकले जानकारी दिएको छ । १५ र १६ गते व्यापारीलाई चिया बगैँचा अवलोकन तथा फ्याक्ट्री भ्रमण गराउनका साथै चिया परीक्षणसमेत गराउने कार्यक्रम रहेको छ ।

