चितवन । खुर्सानीमा समेत नेपाल आत्मनिर्भर हुन सकेको छैन । भन्सार विभागको तथ्याँक अनुसार विगत ६ वर्ष ७ महिनामा नेपालमा सात अर्ब ८६ करोड ५० लाख चार हजार रुपैयाँको खुर्सानी आयात भएको देखिन्छ ।
आर्थिक वर्ष २०७४/०७५ मा १० हजार ६९२ हेक्टर क्षेत्रफलमा ६७ हजार १६७ मेट्रिक टन खुर्सानी उत्पादन भएको थियो । आर्थिक वर्ष ०७६/०७७ मा १० हजार दुई सय ७६ हेक्टर क्षेत्रफलमा ६८ हजार २५ मेट्रिक टन खुर्सानी उत्पादन भएको थियो । त्यसैगरी आर्थिक वर्ष ०७७/०८८ मा १२ हजार पाँच सय २५ हेक्टर क्षेत्रफलमा ८७ हजार सात सय ३१ मेट्रिक टन खुर्सानी उत्पादन भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याँकमा उल्लेख छ ।
आर्थिक वर्ष २०७४/०७५ मा ७७ करोड १५ लाख ३८ हजार रुपैयाँको खुर्सानी आयात भएकोमा गत आर्थिक वर्ष एक अर्ब ८४ करोड ५४ लाख २५ हजार रुपैयाँको खुर्सानी आयात भएको थियो । नेपालमा ६ वर्षको अवधिमा ४१.८० प्रतिशतले खुर्सानी आयात बढेको छ ।

