काठमाडौं । प्रेम दिवसका लागि एक सातामै करीब साढे २ करोड रुपैयाँको गुलाब भित्रिएको छ । नेपाल फ्लोरिकल्चर एशोसिएशनको तथ्यांक अनुसार प्रेम दिवसका लागि भारतबाट २ करोड ४७ लाख रुपैयाँ बराबरको २ लाख ६० हजार स्टिम गुलाबको फूल आयात भएको हो ।
प्रेम दिवसको अवधिभर नेपालमा २ लाख ८० हजार स्टिम गुलाब फूल (डचरोज तथा लोकल)को कारोबार हुने अनुमान गरिएको छ । यसमध्ये काठमाडौं उपत्यकामा १ लाख ६८ हजार स्टिम र १ लाख १२ हजार स्टिम उपत्यका बाहिरका शहर बजारमा खपत हुने अनुमान छ । गतवर्ष प्रेम दिवसको अवसरमा नेपालमा २ लाख ७ हजार स्टिम गुलाबको कारोबार भएको थियो ।
यसपटक आन्तरिक उत्पादनले गुलाबको कुल बजार मागको ७ प्रतिशत धान्नेछ । ९३ प्रतिशत माग भारतबाट आयात गरी पूरा गर्ने लक्ष्य लिइएको छ । यसअघि सामान्य अवस्थामा प्रेम दिवसका लागि आवश्यक पर्ने ६५ प्रतिशत गुलाब भारतबाट आयात हुने र ३५ प्रतिशतसम्म नेपालको आन्तरिक उत्पादनले धान्ने अवस्था थियो ।

