काठमाडौँ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनामा १७ अर्ब ४ करोड रुपैयाँको तरकारी तथा तरकारीजन्य उत्पादनहरू आयात भएको छ । यस अवधिमा सबैभन्दा धेरै करिब साढे ५ अर्बको काँचो र फ्रोजन गरी साढे २१ करोड किलो आलु आयात भएको छ ।
नेपालमा भारत र बंगलादेशदेखि इन्डोनेसियासम्मबाट आलु आयात हुने गरेको छ । स्वदेशी तरकारीले लागत मूल्य पनि नपाएको भन्दै किसान आन्दोलनमा उत्रिएका बेला भारतसहित विभिन्न मुलुकबाट यत्रो परिमाणमा तरकारी आयात भएको हो ।
यो तथ्यांक गत आर्थिक वर्ष २०७८/७९ को यही अवधिको तुलनामा झण्डै साढे ५ अर्बले कम हो । गत वर्ष पहिलो ६ महिनामा २२ अर्ब ५१ करोड रुपैयाँको तरकारी आयात भएको थियो । आयात घटे पनि किसानले भने मूल्य पाउन सकेका छैनन् ।
नेपालले साउनदेखि पुससम्म ३६ करोड ८ लाख रुपैयाँको तरकारी निर्यात गरेको छ । गत वर्ष यही अवधिमा ५२ करोड १५ लाख रुपैयाँको तरकारी निर्यात भएको थियो । नेपालले ६ महिनामा तरकारीमा १६ अर्ब ६२ करोडको व्यापार घाटा बेहोरेको छ ।
३ अर्ब १५ करोड रुपैयाँ मूल्यको ८ करोड ६३ लाख केजी प्याज, विभिन्न प्रकारका सिमीहरू आयात गर्न करिब १ करोड ९ लाख खर्च भएको छ । ७९ करोडको बकुल्लासहित त्यस्ता प्रजातिका ७७ लाख ७७ हजार किलो दलहनहरु भित्रिएका छन् । करिब ६० करोडको करिब ४४ लाख किलो काचो र सुख्खा लसुन आयात भएको छ ।
२ करोड १८ लाख किलो गोलभेंडा आयात गर्न २७ करोड ८७ लाख रुपैयाँ बाहिरिएको छ । २ करोड २१ लाख किलो दाल भित्र्याउन नेपालले २ अर्ब ४४ करोड रुपैयाँ खर्चिएको छ । १ अर्ब ५५ करोड खर्चिएर १ करोड ८८ लाख किलो चना पनि आयात गरिएको छ ।
६ करोड ६० लाख रुपैयाँको च्याउ, ४ करोड ८ लाखको भेडेखुर्सानी, २ करोड ८७ लाखको सखरखण्ड, १ करोड ५२ लाखको बोडी र १ करोड ३६ लाख रुपैयाँको फर्सी पनि आयात भएको छ । भेडेखुर्सानी ताइवानदेखि नेपालमा आउँछ भने युरोपेली देश सर्बियाबाट नेपालमा च्याउ आयात हुन्छ । थाइल्याण्ड, तान्जानिया, लेबनान, मदागास्कर, क्यानडा, रोमानिया, टर्की, ब्राजिल, मोजाम्बिक, दक्षिण अफ्रिका, भेनेजोलिया, इथेयोपिया, मालावीसम्मका तरकारी नेपालमा आयात गरिन्छन् ।

