चितवन । पशुपालनका लागि आवश्यक पर्ने पशु दानाको गुणस्तरका बिषयमा अनुगमन हुन छोडेको छ । दाना र चोक्करको मूल्य महंगो भएको छ,तर गुणस्तरमा ख्याल गरेको पाइदैन । एकातिर महंगो मूल्य अर्को तिर कम गुणस्तर दाना चोकरका कारण कृषकहरु समस्यामा परेकाछन् ।
पर्याप्त मात्रामा घाँस र पोषणको अभाव टार्नको लागि पशुपालनका लागि पछिल्लो समय दाना अत्यावश्यक पशु आहारका रुपमा लिइन्छ । व्यवसायीक रुपमा बढ्दै गईरहेको पशुपालनमा दाना चोक्करको खपत पनि बढ्दै गएको छ । प्रसस्त चरण अभावका कारण पनि दाना पशुपालनका लागि नभै नहुने बस्तुका बनेको छ । पशुबस्तुहरुलाई दाना कै भरमा आहारको व्यवस्था गर्दै आईरहेको देखिन्छ ।
पशुपन्छी र मत्स्य पालक व्यावसायिहरुले प्रयोग गर्ने दाना गुणस्तरको छ छैन ?, दाना गुणस्तरीय नहुँदा नियमन गर्ने निकाय कुन हो ? भन्ने कुरा अन्योल छ । सरकारले दानाको गुणस्तर मापदण्ड निर्धारण गर्न दाना पदार्थ ऐन, २०३३ र नियमावली, २०४१ ले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई नियमनकारी निकाय तोकिएको छ भने पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ले पशु सेवा विभागलाई नियमनकारी निकाय मानेको छ ।
जसका कारण पशुपन्छी पालन सँग सम्बन्धित निकाय पशु सेवा विभाग तथा सो अन्तर्गत पशुपन्छी क्षेत्रको पशु आहारा तथा दाना पदार्थ सम्बन्धी काम गर्ने भनी स्थापना भएको देशको एउटै मात्र राष्ट्रिय पशु आहारा तथा लाइभष्टक गुण व्यवस्थापन प्रयोगशालालाई बढी जिम्मेवार र जबाफदेही हुन कानुनी कठिनाइ रहेको देखिन्छ । फलस्वरूप २०३३ सालमा बनेको दाना ऐन बमोजिम तयार पारिएका दानाका गुणस्तर मापदण्डलाई नेपाल नापतौल तथा गुणस्तर विभागबाट २०३७ सालमा नेपाल गुणस्तर प्रमाण चिन्ह ऐन २०३७ अन्तर्गत कुखुराका दानालाई नेगुण ११ र गाइभैंसीको दानालाई नेगुण १२ गुणस्तर चिन्ह प्रदान गरिएको पाइन्छ । सोही मापदण्डका आधारमा २०३७ साल देखि हाल सम्म दानाको गुणस्तर पहिचान गर्ने माध्यम बनेको छ ,जुन समय सापेक्ष नभएको गुनासाहरू आम दाना उपभोक्ता किसानहरू,दाना बिक्रेताहरू र स्वयं दाना उत्पादक दाना उद्योगीहरूको भनाइ रहेको छ भने दानाका गुणस्तर मापदण्ड समय सापेक्ष निर्धारण गर्ने काममा अब विलम्ब गर्न नहुने कुरामा सबैको जोड रहेको छ ।
दाना पदार्थमा अवान्छनीय मिसावट रोक्न र दाना पदार्थमा रहेको स्वाभाविक वा उपयोगिता हटाउन वा झिक्न नपाउने गर्न दाना ऐन २०३३ र दाना नियमावली २०४१ रहेका छन् । जस अनुसार हाल सम्म कुखुराको दाना र पशु दाना (गाइभैंसी दाना)को मात्र २०३७ सालमा गुणस्तर मापदण्ड नेपाल सरकारबाट निर्धारण र गुणस्तर चिन्ह प्रदान भएको पाइन्छ । नेपाल गुणस्तर प्रमाण चिन्ह ऐन २०३७ अन्तर्गत कुखुराका दानालाई नेगुण ११ र गाइभैंसीको दानालाई नेगुण १२ गुणस्तर चिन्ह प्रदान गरिएको पाइन्छ ।
दाना तथा पशु आहारको गुणस्तर मापदण्ड समयसापेक्ष निर्धारण गरिनु पर्छ । यसका लागि आवश्यक पर्ने सबै ऐन, कानुन, नियमहरूको विलम्ब नगरी संशोधन तथा निर्माण गरी पशु आहारा तथा दानासँग प्रत्यक्ष सम्बन्धित निकाय राष्ट्रिय पशु आहारा तथा लाइभष्टक गुण व्यवस्थापन प्रयोगशालालाई बढी जिम्मेवार र अधिकार सम्पन्न बनाइनु पर्छ ।

