काठमाडौँ । मुख्य कृषि उपजको आयात ३२ प्रतिशतले घटेको छ । भारतले निर्यात नीतिमा कडाइ गरेसँगै केही वस्तुको उत्पादनसमेत बढेकाले आयात घटेको हो । कृषि मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ६९ अर्ब १६ करोड रुपैयाँ बराबरको मात्रै कृषि उपज आयात भएको छ । गत आवको यहि अवधिमा १ खर्ब १६ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।
‘भारतले चामल, धान, गहुँको निर्यातमा कडाइ गरेपछि यी वस्तुको आयात स्वतः घटेको देखिन्छ । मन्त्रालयको तथ्यांकअनुसार गत साउनदेखि असोजसम्म चामल, कनिका, मकै, गहुँको आयात उल्लेख्य रुपमा घटेको छ । गत आवको सोही अवधिमा १० अर्ब १० करोड रुपैयाँको चामल भित्रिएकोमा अहिले आयात ४७।४ प्रतिशतले घटेर कारोबार ५ अर्ब ३२ करोड रुपैयाँमा झरेको छ । मूल्यसँगै आयात परिमाणमा पनि कमी आएको छ । गत आवको पहिलो ३ महिनामा २ लाख ७ सय ७८ मेट्रिक टन चामल आयात भएकोमा अहिले ९४ हजार ७ सय ३७ टन मात्रै भित्रिएको छ ।
कनिकाको आयात पनि ३० प्रतिशतले घटेको छ । गत आवको पहिलो ३ महिनामा ४० करोड रुपैयाँको कनिका आयात भएकोमा अहिले २८ करोडमा सीमित भएको छ । परिमाणमा पनि ३४ प्रतिशतले कमी भएको मन्त्रालयको विवरणमा छ । त्यस्तै, मकैको आयात ३९.७ प्रतिशतले घटेर कारोबार ३ अर्ब ४० करोड रुपैयाँ खुम्चिएको छ । गत आवको सोही अवधिमा ५ अर्ब ६४ करोड रुपैयाँको मकै नेपाल भित्रिएको थियो । गत साउनदेखि असोजसम्म ८२ हजार १ सय १४ टन मकै आयात भएको छ ।
कृषि उपजमध्ये सबैभन्दा बढी गहुँको आयात ९६।३ प्रतिशतले घटेको छ । गत आवको पहिलो ३ महिनामा १ अर्ब ३१ करोड रुपैयाँको गहुँ आयात भएकोमा अहिले १२ करोड रुपैयाँको मात्रै भित्रिएको हो । परिमाणगत रुपमा पनि ९६।६ प्रतिशतले घटेर १ हजार ४ सय ४८ टनमा झरेको छ । कृषि मन्त्रालयका प्रवक्ता सन्जेलका अनुसार भारतले गहुँ निर्यातमा लामो समयसम्म रोक लगाउँदा आयात घटेको हो ।
मन्त्रालयको तथ्यांकले खाने तेलको कच्चा पदार्थको आयातमा पनि कमी भएको देखाउँछ । व्यवसायीले तेस्रो मुलुकबाट आयात गरी प्रशोधन गर्छन् र भारत निर्यात गर्दै आएका छन् । ताजा तरकारीको हकमा भने निर्यात १७.२ प्रतिशतले बढेको छ । गत आवको पहिलो ३ महिनामा १० करोड रुपैयाँको ताजा तरकारी बाहिरिएकोमा यस वर्ष १२ करोड रुपैयाँको निर्यात भएको छ । परिमाणमा पनि २७.२ प्रतिशतले बढेर १० हजार १ सय ५१ टन निर्यात भएको मन्त्रालयले जनाएको छ ।

