चितवन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले ठूलो संख्यामा कृषिका कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको छ । आज (मंगलबार) एक सूचना जारी गर्दै कार्यालयले तीन करोड ७७ लाख २१ हजार रुपैयाँ बराबरका २१ वटा कृषिका कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको हो ।
कार्यालयले सिँचाई पूर्वाधार निर्माण तथा मर्मत, स्यालो ट्यूबेल, कृषि बजारीकरण, कृषि यान्त्रीकरणमा सहयोग, चक्लाबन्दीमा आधारित खेतीको प्रर्वद्धन, बीउ उत्पादन लगायतका क्षेत्रका लागि कृषकलाई दरखास्त दिन आह्वान गरेको छ । परियोजनाले तरकारी, केरा, धान र मौरी पालक किसानका लागि प्रस्ताव आह्वान गरेको हो । परियोजनाले सबैभन्दा धेरै धान जोन अन्तरगत २ करोड ४ लाख २१ हजार रुपैयाँका कार्यक्रमका सञ्चालन गर्न लागेको छ । त्यस्तै केरा जोन अन्तरगत ६७ लाख, मौरी जोनका ६२ लाख र तरकारीमा ३० लाख रुपैयाँका कार्यक्रमका लागि प्रस्ताव आह्वान गरिएको परियोजाका कृषि अधिकृत इन्द्र शर्मा ढुंगानाले जानकारी दिए । सञ्चालित कार्यक्रममध्ये ५० देखि ८५ प्रतिशतसम्म अनुदानका कार्यक्रम छन् ।
परियोजनाले ५६ वटा सिँचाइ पूर्वाधार निर्माण तथा मर्मत सम्भारका लागि दरखास्त आह्वान गरेको कार्यालयले ८५ लाख ६ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसमध्ये व्यवसायीक उत्पादनका क्षेत्रहरुमा ७ वटा सिँचाइ पूर्वाधार निर्माण तथा मर्मत गर्न १४ लाख रुपैयाँ बजेट स्वीकृत गरिएको छ । धान जोनका लागि ५६ वटा स्यालो ट्यूबलेट निर्माण गर्न ४७ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन भएको छ । धान जोन अन्तरगत ३५ हेक्टर क्षेत्रफलमा बीउ उत्पादनमा सहयोगका लागि ४ लाख ३८ हजार, सामुदायीक नर्सरी सञ्चालनमा १ लाख ५ हजार, जोन÷सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोगमा ६० लाख, चक्लाबन्दीमा चैते धान प्रवद्र्धन गर्न १४ लाख, धान सुकाउने ड्रायर सेन्टर स्थापना गर्न ३० लाख, स्थानीय धानको ब्रान्डिङ सहयोगमा ७ लाख ७२ हजार र धानको बीउ प्रशोधन केन्द्रको स्तरोन्नतीका लागि ३९ लाख १ हजार रुपैयाँ बजेट रहेको छ ।
तरकारी जोन क्षेत्रअन्तर्गत कृषि यान्त्रीकरण, बजार प्रबद्र्धन र गाजर खेती प्रवद्र्धनका लागि दरखास्त आह्वान गरिएको छ । यी तीन वटा कार्यक्रमका लागि दरखास्त आह्वान गरेको कार्यालयले ३० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । यी कार्यक्रममा ५० देखि ८५ प्रतिशत सम्मको अनुदान रहेको छ । केरा जोन क्षेत्रअन्तर्गत कृषि यान्त्रीकरण सहयोग, सिँचाइ पूर्वाधार निर्माण, केरामा उन्नत प्रविधी प्रदर्शन, बजारिकरणका लागि प्रस्ताव आह्वान गरिएको हो । यी कार्यक्रम सञ्चालन गर्न कार्यालयले ६७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
केरामा उन्ननत प्रविधि प्रर्दशनमा २० लाख, कृषि यान्त्रीकरणमा ८ लाख, सिँचाइमा २४ लाख, केरा बजारीकरणमा १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यी कार्यक्रममा ५० देखि ८५ प्रतिशतसम्मको अनुदान रहेको छ । मौरी जोन क्षेत्रमा कृषि यान्त्रीकरण, घार वितरण, महको प्रशोधन उद्योगमा सहयोग, मौरीघार राख्ने टहरो निर्माण सम्बन्धी कार्यक्रमका लागि पनि प्रस्ताव आह्वान गरिएको छ । यी कार्यक्रमका लागि ६२ लाख रुपैयाँ बजेट छ । ५० प्रतिशत अनुदानमा १० वटा टहरो निर्माण गर्न २० लाख बजेट विनियोजन गरिएको छ ।
परियोजना कार्यान्वयन एकाई चितवनले दरखास्त आह्वान गरेका अधिकांश कार्यक्रम ५० देखि ८५ प्रतिशतसम्मका अनुदानका कार्यक्रम रहेका छन् । यी कार्यक्रममा सहभागी हुनका लागि परियोजनामा सूचिकृत इच्छुक कृषि समूह, सहकारी, कृषि फर्म, कम्पनीलाई आवश्यक कागजात सहित ३० दिन (भदौ २९) भित्र आवेदन दर्ता गर्न अनुरोध गरिएको छ ।
परियोजनाका कार्यक्रममा सहभागी हुन संस्थाको नविकरण भएको प्रमाणपत्र, जग्गाको स्वामित्व खुल्ने सम्झौतानामा, कार्यसमितिको निर्णयको प्रतिलिपि, स्थायी लेखा नम्बर दर्ताको प्रतिलिपि, कर चुक्तालगायतका प्रमाणपत्र पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
बसन्त ढुगांना कालिका न्युज

