काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले १०० पूर्णाङ्कको परीक्षामा न्यूनतम ३५ अंक नल्याए फेल हुने भएका छन् । लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने व्यवस्था गरिएको छ । निर्देशिका अनुसार कुनै विषयमा ३५ प्रतिशत भन्दा कम अंक ल्याए प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । विद्यार्थीले कुनै पनि विषयमा एनजी ल्याएको अवस्थामा कक्षा ११ मा पढ्न पाउने छैनन् ।
दुईथरी मूल्याङ्कन
यस पटकदेखि एसईईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने भएको छ । सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरिएको छ ।
यसअघि सैद्धान्तिक र प्रयोगात्मक दुवैतर्फको प्राप्ताङ्कलाई एकीकृत गरी अन्तिम नतिजा प्रकाशन गरिन्थ्यो । यसपटक प्रयोगात्मक र सैद्धान्तिकतर्फको प्राप्ताङ्कलाई फरक–फरक ग्रेड निर्धारण गर्न लागिएको हो ।
सबै विषयको ग्रेडलाई एकीकृत गरेर परीक्षाको समग्र नतिजामा जीपीए निर्धारण गरिनेछ । एसईई नतिजालाई परीक्षार्थीको प्राप्ताङ्कअनुसार आठवटा ग्रेड निर्धारण गरिनेछ। परीक्षार्थीको प्राप्ताङ्कअनुसार ९० भन्दा माथि ल्याउनेलाई ‘ए’ प्लस ग्रेड मानिनेछ, जसलाई जीपीए ४ दशमलव ० दिइनेछ ।
८० देखि ९० अङ्कसम्मकालाई ‘ए’ ग्रेड मानिनेछ, जसलाई जीपीए ३ दशमलव ६ दिइनेछ । त्यस्तै ७० देखि ८० अङ्कसम्मलाई ‘बी’ प्लस ग्रेड मानिनेछ, जसलाई जीपीए ३ दशमलव २ दिइनेछ । ६० देखि ७० अङ्कसम्मलाई ‘बी’ ग्रेड मानिनेछ र त्यसलाई जीपीए २ दशमलव ८ दिइनेछ ।
५० देखि ६० अङ्कसम्मकालाई ‘सी’ प्लस ग्रेड दिई जीपीए २ दशमलव ४ मानिनेछ । ४० देखि ५० अङ्कसम्मकालाई ‘बी’ प्लस ग्रेड मानिने र जीपीए २ दशमलव ० दिइनेछ । त्यस्तै ३५ देखि ४० सम्मकालाई ‘डी’ ग्रेड मानिने र जीपीए १ दशमलव ६ दिइनेछ ।
३५ अङ्कभन्दा तलकालाई भने ग्रेडमा गणना गरिने छैन । यस समूहलाई कुनै पनि ग्रेड समूहमा राखिने छैन । यो समूहमा पर्ने विद्यार्थी एसईईपछि माथिल्लो तहमा भर्नाका लागि अयोग्य मानिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

